वीरगन्ज महानगरले १० महिनामा संकलन गर्‍यो ४० करोड राजस्व

हिमाल प्रेस ८ जेठ २०८१ ७:२६ | Tuesday, May 21, 2024
वीरगन्ज महानगरले १० महिनामा संकलन गर्‍यो ४० करोड राजस्व

पर्सा- वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ रकम राजस्व संकलन गरेको छ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ रकम बढी संकलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो।

वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोड रुपैयाँको हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए। ‘‘आर्थिक मन्दीका कारण वीरगन्जमा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ,’ उनले भने।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपैयाँ रकम संकलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए।

‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’ उनले भने, ‘‘आन्तरिक राजस्व अपेक्षाकृत रूपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ।

महानगरले बहाल करतर्फ तीन करोड २६ लाख ४४ हजार रुपैयाँ तथा अन्य सेवा शुल्कबापत दुई करोड ४१ लख ४३ हजार रुपैयाँ, नक्सापास दस्तुर दुई करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ।

गत आवमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित: ८ जेठ २०८१ ७:२६ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast