विदेश पठाइदिने भन्दै साढे ७३ लाख ठगी!

हिमाल प्रेस ३० वैशाख २०८१ १९:३५ | Sunday, May 12, 2024
विदेश पठाइदिने भन्दै साढे ७३ लाख ठगी! प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर-१९ घर भई हाल काठमाडौँ आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका-९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका-९ स्थायी घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरूमध्ये रिञ्जिनले निराजन केसीसमेत १० जनालाई बेलायत पठाइदिने भन्दै रु ५६ लाख ५० हजार ठगी गरेका थिए। त्यसै गरी प्रकाश बज्राचार्य एवं कल्पना बज्राचार्यले नरेश महर्जनसमेत दुई जनालाई क्यानडा पठाइ दिने भन्दै १५ लाख तथा चन्द्रमाया थापा कार्कीले राकेश ओझालाई स्पेन पठाइ दिने भन्दै दुई लाख लिएको उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।

आरोपितहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८१ १९:३५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast