 
                            
                                            लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले हाडजोर्नी तथा मेरुदण्ड रोगको उपचारमा नयाँ रेकर्ड राखेको छ। काठमाडौँबाहिर विरलै हुने जोर्नीको सफल प्रत्यारोपण अस्पतालमा गरिएको हो। जोर्नीको प्रत्यारोपण जटिल शल्यक्रियामा पर्दछ।
वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिरराज खड्काले पहिलोपटक पूर्ण रूपमा जोर्नीको प्रत्यारोपण गरेका छन्। गुल्मी कालीगण्डकी गाउँपालिका ५ फोक्सिङका ५६ वर्षीय दुर्गाबहादुर श्रीसको जोर्नीको वैशाख १२ गते खड्का नेतृत्वमा पूर्ण प्रत्यारोपण गरिएको हो।
स्वास्थ्य क्षेत्रमा जोर्नी प्रत्यारोपण जटिल शल्यक्रियाका रूपमा हेर्ने गरिन्छ। लुम्बिनी प्रादेशिक अस्पतालमा जोर्नी प्रत्यारोपण गरिएको श्रीसको पहिलो भएको अस्पतालले जनाएको छ।
पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीले उपचार सेवा पाउने लुम्बिनी प्रादेशिक अस्पतालमा जोर्नी प्रत्यारोपण भएपछि लुम्बिनी र आसपासका बिरामीलाई सजिलो हुने भएको छ।
१२ वर्षसम्म कष्टपूर्ण जीवन बिताएका श्रीसले जोर्नी प्रत्यारोपणले नयाँ जीवन पाएका छन्। ‘घाँस काट्न जाँदा लडेर हिपको जोर्नीमा समस्या देखिएको थियो। एक दशकभन्दा बढी दुखाइ सहेर जीवन बिताएँ’, श्रीसले भने, ‘जोर्नीको प्रत्यारोपण भयो, बल्ल हिँडडुल गर्न सहज हुने भयो।’ श्रीसले निकै कष्टका साथ हिँडडुल गर्दै आएका थिए। शल्यक्रियापछि सहज महसुस गरेको बताए।
अस्पतालका वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिरराज खड्काले लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्ण रूपमा जोर्नीको प्रत्यारोपण गर्न सफल भएको जानकारी दिए। यसले लुम्बिनी क्षेत्रका बिरामीलाई सहज हुने उनको भनाइ छ।
खड्काका अनुसार जोर्नी प्रत्यारोपण दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइँदा समस्या आउँछ। लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले मेरुदण्ड र जोर्नीका बिरामीलाई विशेषज्ञ चिकित्सकहरुले उपचार गर्छन्।
डा. खड्काले सर गंगाराम अस्पताल नयाँदिल्लीमा स्कलरसिपमा एक वर्ष अध्ययन गरेर सेवा गरिरहेका छन्। मेरुदण्डसँग सम्बन्धित हाड र जोर्नीहरुको उपचारमा उनले विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन्।
बुटवलमा जोर्नीको प्रत्यारोपण नहुने भएकाले बिरामी प्रायः काठमाडौँ र दिल्ली जानुपर्ने बाध्यतामा थिए। वैशाख १२ गते श्रीसको जोर्नी प्रत्यारोपणले लुम्बिनी क्षेत्रका बिरामी बाहिर जान नपर्ने भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा जोर्नी प्रत्यारोपण हुन थालेपछि यसले बिरामीको खर्चसँगै सुविधा पनि थप भएको आयुष मेडिकल हल बुटवलका सञ्चालक तुलसीराम शर्माले बताए।
‘सरकारी अस्पतालमा जोर्नीको प्रत्यारोपणले बिरामीलाई सजिलो भयो, बिरामीको खर्च पनि जोगियो’, शर्माले भने। उनले सरकारी अस्तालमा जटिल रोगको उपचार हुने कुरा निकै सकारात्मक रहेको बताए।
डा. खड्का पनि मेरुदण्ड र जोर्नीका बिरामी अब बाहिर जान नपर्ने गरी प्रादेशिक अस्पतालमै सेवा दिएको बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पतालमा जोर्नी प्रत्यारोपणका लागि २ लाख ५० हजारसम्म खर्च लाग्छ। उपचार र शल्यक्रियाको शुल्क लाग्दैन। जोर्नीमा कृत्रिम सामग्री राख्नुपर्ने भएकाले ठूलो रकम लाग्ने गरेको हो।
बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने, चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबीका कारण समुचित विकास नहुने लगायतको अवस्थामा प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।
जोर्नी दुख्ने, हिँड्नै नसक्ने, दैनिक गरिँदै आएको काम गर्न नसक्ने यसको लक्षण हो। सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्ने चिकित्सकहरूको भनाइ छ।
पहिलो पटक सर्भाइकल स्पाइन सर्जरी
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक सर्भाइकल स्पाइन सर्जरी गरिएको छ। विगत १० वर्षदेखि आफ्नो दैनिक कामका लागि अरुको भर पर्दै आएका रुकुम पश्चिमका सिस्ने ६ का ५९ वर्र्षीय दामोदर केसीको पहिलोेपटक सर्भाइकल सर्जरी गरिएको हो।
प्रदेश सरकारले द्वन्द्वपीडितहरूको निःशुल्क उपचार गर्ने प्रावधानअनुसार उपचार गरिएको अस्पतालले जनाएको छ। २०८० चैत १५ गते अस्पताल भर्ना भएका केसीको सर्भाइकल स्पाइन सर्जरी गरेर २०८१ वैशाख ३ गते डिस्चार्ज गरिएको डा. खड्काले बताए।
अर्थोपेडिक स्पाइन सर्जरी विभागलाई बलियो र स्पाइनल सर्जरीका बिरामीलाई सेवा दिइएको लुम्बिनी प्रादेशिक अस्पताल सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताए। उनका अनुसार एकाधबाहेक अधिकांश उपचार लुम्बिनी प्रादेशिक अस्पतालमै हुने गरेको छ। ११४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशबाट समेत बिरामी आउने गरेको उनले बताए।
अस्पतालले तीन सय सरकारी र एक सय अस्पताल विकास समितिबाट गरी ४ सय बेडबाट उपचार सेवा दिइरहेको छ। अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा १ लाख १६ हजार ४ सय ८० बिरामीको उपचार भएको छ। यसमध्ये करिब १० हजारको शल्यक्रिया र १२ हजार बढीले सुत्केरी गराएको तथ्यांक छ।


 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 