 
                             
                                            काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा टुलुजसँग पराजित भएको छ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति सम्पन्न खेलमा लिग वान च्याम्पियन पीएसजी पाहुना टोलीसँग ३-१ गोल अन्तरले पराजित भएको हो।
खेलको आठौँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, १३औँ मिनेटमा थिज डालिंगाले गोल गर्दै खेल बराबरीमा ल्याए। ६८औँ मिनेटमा यान गबोहो र दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा फ्रान्क मगरीले गोल गर्दै टुजुललाई ३-१ को पुनरागमन जित दिलाए। एमबाप्पेको यो नै पीएसजीका लागि अन्तिम खेल हो।
उनले यसअघि नै पीएसजी छाड्ने घोषणा गरिसकेका छन्। अब उनको यात्रा कुन टिममा हुन्छ निश्चित छैन।
यद्यपि, स्पेनिस टिम रियल मेड्रिड भित्रिने चर्चा छ। यसबारे भने एमबाप्पे बोलेका छैनन्।
जारी लिगमा पीएसजीको यो दोस्रो हार हो। ३२ खेल खेलेको पीएसजीले ७० अंक जोडेको छ। ३३ खेल खेलेको टुलुज ४३ अंकसहित १०औँ स्थानमा छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 