 
                             
                                            ललितपुर- ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन्।
प्रधानमन्त्री कार्यालयबाट सरुवा भएकी उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मंगलबारदेखि सम्हालेकी हुन्। यस अघि वीरेन्द्रदेव भारती महानगरको प्रमुख प्रशासकीय अधिकृतमा थिए।
भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएका छन्। ललितपुर महानगरले प्रमुख प्रशासकीय अधिकृत रेखा दासको स्वागत र भारतीको बिदाई गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र महानगरका अन्य कर्मचारी सहयोगी भएको बताए।
उनले भने, ‘हामी मिलनसार छौं, तर्सिन पर्दैन, नहुने कुरा नल्याउनुहोस्, हुने कुरा ल्याउनुहोस्।’ रेखादास ललितपुर महानगरको पहिलो प्रमुख प्रशासकीय अधिकृत भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘उहाँ स्मार्ट हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ, महानगरको विकास गर्न उहाँको कामले फलदायी रिजल्ट निकाल्छ।’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संघीय तहमा काम गरेको अनुभवलाई स्थानीय तहमा प्रयोग गर्दा महानगरको विकासमा सहयोग पुग्ने बताइन्।
कार्यान्वयनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका कर्मचारीको हुने भएको उनले बताइन्। छिटो छिटो प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा काम प्रभावित हुने उपप्रमुख मञ्जलीले बताइन्। उनले भनिन्, ‘कति समय बस्ने हो, त्यो पोलिसी नै बनाउनुपर्छ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले कानुनले दिएको अधिकार प्रयोग गरी इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
निर्वतमान प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गरेको बताए। जहाँ काम गर्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राख्ने उनले बताए।
कार्यक्रममा कानुन महाशाखामा प्रमुख खगेन्द्र वस्तीले निवर्तमान प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीलाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘उहाँका कारण कुनै पनि दिन फाइल अड्किएन। काम रोकिएन’ कार्यक्रममा शाखा, महाशाखा प्रमुख लगायत अन्य कर्मचारीको उपस्थित थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 