 
                             
                                            काठमाडौँ- पछिल्लो समयका व्यस्त अभिनेता हुन् प्रदीप खड्का। उनी अहिले जेष्ठ १० मा प्रदर्शनमा हुने फिल्म ‘पुजार सार्की’को प्रचारमा व्यस्त छन्।
‘पुजार सार्की’को प्रचारप्रसारका लागि छायांकनरत फिल्म ‘एक्टर’बाट समय मिलाउँदै खड्का अहिले उपत्यकामा आफ्नो मैतबहादुरको चरित्र र फिल्मको कथावस्तुबारे विभिन्न सञ्चारमाध्यममा अन्तवार्ता दिइरहेका छन्।
उनी फिल्मकर्मीले निकै मेहनत गरेर निर्वाह गरेको भूमिकालाई फिल्म सफल भएमात्र खोजी गरिने बताउँछन्। ‘हामी कलाकारले हरेक भूमिकालाई निर्वाह गर्न उत्तिकै मेहनत गरिरहेका हुन्छौँ, त्यो रिजल्टले मात्र देखिन्छ। हाम्रो काम राम्रो भयो भने मेहनतको सोधखोज हुन्छ नत्र त्यो मेहनतमै सिमित हुन्छ।’ प्रदीपले भने ‘मैले मैत बहादुर बन्नका लागि कपडादेखि लवजसम्ममा निकै मेहनत गरेर काम गरेको थिए। जसलाई फिल्मप्रेमी दर्शकले नोटिस गरिदिनु भएकाे छ।’ यसले प्रदीप आफू केही हदसम्म सफल भएको अनुभव गरिरहेका छन्।

अहिले प्रदीपको हातमा आधा दर्जन बढि फिल्म छन्। जसले गर्दा उनलाई फिलमको प्रचार र छायांकनको लागि समय मिलाउन समेत हम्मेहम्मे परिरहेको बताउँछन्। उनी चार वर्षमा एउटा फिल्म गर्नु र एक वर्षमा चार वटामा खेल्नु व्यक्तिनै निर्णयमा भर पर्ने धारणा राख्छन।
‘चार वर्षमा एउटा फिल्म गर्नु र एक वर्षमा चार वटामा खेल्नु आफ्नै निर्णय हो। यसले आफ्ना करियरको परीक्षण पनि भइरहेको हुन्छ।’ उनी थप्छन् ‘पहिला मैले एउटा तरिकाले काम गरेँ। अब एकदमै बिजी भएर हेरम् न भन्ने सोच आएको छ। मेरो क्षमता कति रहेछ र कति काम गर्न सक्ने रहेछु भनेर परीक्षण गर्दैछु। वर्षमा तीन चार वटा फिल्म गर्दा कस्तो आउटपुट आउँछ भन्ने हेर्न खोजेको हुँ। ४ वर्षमा एउटा गर्दा र वर्षमा ती चार वटा गर्दा एउटै भयो भने त यो नै राम्रो हो नि।’
रोमान्टिक (चकलेटी) हिरोको छवि बनाएका प्रदीपले अहिले आफूलाई भर्सटायल अभिनेताको रुपमा चिनाउन प्रयासरत छन्। जसको सुरुवात ‘प्रकाश’बाट गरे। उक्त फिल्मबाट दर्शकलाई उनले आफूलाई फरक चरित्रमा पनि काम गर्न सक्ने अभिनेताको रुपमा चिनाए।
नेपाली फिल्म जगतमा प्रदीपलाई महंगा अभिनेताको रुपमा चिन्ने गरिन्छ। आफूले अहिलेसम्म धेरै पैसा डिमान्ड नै नगरेको उनको दाबी छ। तरपनि पहिलाको तुलनामा अहिले निर्माताबाट आफूलाई धेरै राम्रो पारिश्रमिक मिल्ने गरेको उनी बताउँछन् ।
जेठ १० गते प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’ मा विशेषत्ः मैतबहादुरकै चरित्रमा बढि केन्द्रित रहेको निर्माण टिमले बताएको छ। फिल्ममा अन्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ।
दिनेश राउतले निर्देशित फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। संगीतकार सुवास भुषालले निर्माण गरेको फिल्म राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन हिमाल केसीको द्वन्द्व निर्देशनमा बनेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/prakash-film.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 