मलेसियाले आप्रवासी कामदारको कोटा नथप्ने, नेपाली श्रम बजार प्रभावित

हिमाल प्रेस १० जेठ २०८१ १२:१६ | Thursday, May 23, 2024
मलेसियाले आप्रवासी कामदारको कोटा नथप्ने, नेपाली श्रम बजार प्रभावित

काठमाडौँ- मलेसिया सरकारले आप्रवासी कामदार भर्ती प्रक्रियामा पुन: रोक लगाउने भएको छ।

मलेसियाले २०२३ मार्चदेखि नै आप्रवासी कामदार भर्नामा रोक लगाएको थियो। तर रोजगारदाता कम्पनीको मागअनुसार मलेसिया सरकारले कामदार भित्र्याउने प्रक्रिया भने पूर्णरूपमा बन्द गरेको छैन।

मलेसियाको गृह मन्त्रालयले भने आप्रवासी कामदारका लागि कुनै नयाँ कोटा थप नगरिएको र अर्को नयाँ नियम लागू नभएसम्म विदेशी कामदार नलिने मलेसियाली गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले यही साता एक पत्रकार सम्मेलनमा घोषणा गरेका छन्।

रोजगारदातालाई नयाँ आप्रवासी कामदार भर्नाका लागि कोटामा लगाइएको बन्देज अझै निरन्तर रहने दिने सरकारले निर्णय गरेको समेत जानकारी गराएका थिए।

रोजगारदातालाई आप्रवासी कामदार भर्ना गर्न दिइएको कोटा पूरा हुन देखिएपछि थप कामदार नलिने नीति अघि सारेको हुनसक्ने मलेसियाली सञ्चारमाध्यम ‘द एज मलेसिया’मा उल्लेख छ।

मलेसिया सरकारले गरेको आप्रवासीसम्बन्धी प्रक्षेपणमा एक करोड ७१ लाख श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी नयाँ कोटा नदिने र सन् २०२४ का लागि नयाँ कोटा पूर्ति भएको समेत ‘द एज मलेसिया’ले जनाएको छ।

मलेसियाले आप्रवासी कामदार भर्नामा निरन्तर रोक लगाउने निर्णय गरेसँगै नेपालको वैदेशिक रोजगारी क्षेत्र प्रभावित हुने वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन्।

मलेसिया सरकारले अझै केही समय आप्रवासी कामदार भर्ना नगर्ने नीति लिएको छ। यसको प्रभाव नेपाली श्रम बजारमा उत्पन्न हुने उनीहरूको भनाइ छ।

मलेसियाका रोजगारदाता कम्पनीले नयाँ विदेशी कामदार भर्ना गर्न रोक लगाएका कारण कामदारको अभाव हुँदै गएको आवाज उठाउँदै आएका छन्। तर यस विषयमा सरकारले चासो नदिएको उनीहरूको आरोप छ।

डिसेम्बर २०२४ सम्मलाई कोटा पुगिसकेको मलेसिया सरकारले निर्णय गरेको छ। यसका मारमा नेपालको वैदेशिक रोजगारी क्षेत्र र म्यानपावर व्यवसायी पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउँछन्।

मलेसिया सरकारको निर्णयले रोजगारीका लागि जान तयारी गरिरहेका नेपालीलाई प्रत्यक्ष असर पर्ने उनको भनाइ छ।

चालु आवको १० महिनामा पनि एक लाखभन्दा बढी नेपाली मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। मलेसिया नेपाली कामदारहरुको प्रमुख गन्तव्य देशभित्र पर्छ।

गत आर्थिक वर्ष पहिलो रोजगारगन्तव्य देश मलेसिया बनेको विभागको तथ्यांकमा छ।

प्रकाशित: १० जेठ २०८१ १२:१६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast