बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावासले गर्‍यो लुम्बिनीमा कार्यक्रम, प्रधानमन्त्री प्रचण्डलाई थाङ्का चित्र उपहार

हिमाल प्रेस ९ जेठ २०८१ २२:१२ | Wednesday, May 22, 2024
बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावासले गर्‍यो लुम्बिनीमा कार्यक्रम, प्रधानमन्त्री प्रचण्डलाई थाङ्का चित्र उपहार

काठमाडौँ- बुद्ध जयन्तीको अवसरमा नेपालस्थित भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न कार्यक्रम गरेको छ। लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम गरिएको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै सुरु भएको कार्यक्रममा भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरू सहभागी थिए। सो क्रममा वक्ताहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा विचार राखेका थिए।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ रहेको थियो।

बुधबार नै सांस्कृतिक साँझ समेत आयोजना गरिएको थियो। सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरू समावेश रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतकी कविता द्विवेदी र वनको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा.सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरूको मार्मिक प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली सांगीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरूको भावपूर्ण सांगीतिक सङ्ग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

सो क्रममा आफ्नो स्वागत मन्तव्यमा नेपालका लागि भारतीय राजदूत राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रूपमा रहेको बताए। उनले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने बताए।

यस्तै कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। प्रचण्डले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त सांस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा गरे। राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारतको सिक्किमको विस्तृत रूपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरूप प्रदान गरेका थिए।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: ९ जेठ २०८१ २२:१२ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast