पोर्चुगलको लिस्बनमा मनाइयो बुद्धजयन्ती

हिमाल प्रेस ११ जेठ २०८१ २१:१२ | Friday, May 24, 2024
पोर्चुगलको लिस्बनमा मनाइयो बुद्धजयन्ती

लिस्बन (पोर्चुगल)- विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५ सय ६८औँ जन्मजयन्ती ‘पोर्चुगल’मा मनाइएको छ।

लिस्वनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संघ पोर्चुगलका साथै यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बिहीबार बुद्धजयन्ती मनाइएको हो।

त्यसअवसरमा राजधानी लिस्बनमा भगवान् गौतम बुद्धको विशेष पूजाआराधना गरिनाका साथै बृहत् शोभायात्रा निकालिएको थियो। रोसियोस्थित प्रासा दी कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको बाक्लो सहभागिता रहेको थियो।

बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा, सांस्कृतिक वेशभूषा र बाजागाजासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए। शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो।

त्यसक्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा बुद्धसम्बन्धी जानकारी दिने अङ्ग्रेजी र पोर्चुगिज भाषामा लिखित बुद्धभूमि नेपाल, नेपालको धार्मिक पर्यटन र बुद्धसम्बन्धी जानकारीमूलक पर्चा वितरण गरिएको थियो।

शोभायात्रापछि ‘मार्तिम मुनिज पार्क’मा आयोजित कोणसभामा पोर्चुगिज बौद्ध धर्मगुरु गिर्मे लामा र नेपाली लामा फुरीले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिएका थिए।

कोणसभामा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, महावाणिज्यदूतावासका कार्यालय प्रमुख छविलाल बगालेलगायतले बोल्दै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए।

प्रकाशित: ११ जेठ २०८१ २१:१२ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast