 
                             
                                            काठमाडौँ- तेह्र वर्षीय कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८० को उत्कृष्ट ८ गैरआख्यान कृतिहरूको सूचीमा परेकाे छ। साहित्यपोस्टले नवप्रतिभालाई प्रदान गर्ने ५० हजार रुपैयाँ राशिको पुरस्कारका लागि कुञ्जलको उक्त पुस्तक छनोट भएकाे हो।
‘मैले पढेका किताब’ पठन अनुभूतिहरू सङ्ग्रहित पुस्तक हो। पुस्तकमा विशिष्ट साहित्यकारहरू माधव घिमिरे, रमेश विकल, जनकप्रसाद हुमागाईं, कविताराम श्रेष्ठदेखि पछिल्लो पुस्ताका लेखहरूका समेत गरी ३८ बालकृतिहरूका बारेमा लेखिएका आलेखहरू समावेश छन्।
विधागत रूपमा कृतिमा बालकविता, बालकथा, बालजीवनी तथा चित्रकथासम्मका बारेमा लेखिएका आलेख समेटिएका छन्। पुस्तकलाई युनाइटेड स्कुलले प्रकाशनमा ल्याएको हो भने वितरण व्यवस्थापन र सम्पादन साहित्यकार विनयकुमार शर्मा नेपालको रहेको छ।
पुरस्कारका लागि छनोटमा परेका अन्य पुस्तकहरूमा चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’ जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा।जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ रहेका छन्।
साहित्यपोस्टका अनुसार यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये संस्थालाई प्राप्त १९ गैरआख्यानका कृतिबाट छानिएको छ। यो प्रारम्भिक सूची हो। यही सूचीका आधारमा गैरआख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने साहित्यपोस्टकाे भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 