नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबीच व्यापारिक सहकार्यको सम्झौता

हिमाल प्रेस १४ जेठ २०८१ २०:५३ | Monday, May 27, 2024
नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबीच व्यापारिक सहकार्यको सम्झौता

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ।

व्यापारिक सूचना तथा अनुभव आदानप्रदान, व्यावसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवर्द्धनलगायत १० विषयमा सहकार्यको आज (सोमबार) सम्झौता भएको हो।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे।

नेपाल-इजरायल चेम्बरबीच भएको सम्झौताअनुसार आफ्ना सदस्यहरुको हितअनुकूल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ। यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ।

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषय पनि सम्झौतामा उल्लेख छ। सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रवर्द्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ।’

यस्तै नेपाल र इजरायलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा सहमति भएको छ। वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययनअनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो।

प्रकाशित: १४ जेठ २०८१ २०:५३ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast