नेपालगञ्जमा गर्मीको कहर, त्यसमाथि छैन बिजुलीको भर

हिमाल प्रेस १६ जेठ २०८१ २१:१९ | Wednesday, May 29, 2024
नेपालगञ्जमा गर्मीको कहर, त्यसमाथि छैन बिजुलीको भर फाइल तस्बिर।

बाँके- नेपालगञ्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिए।

उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताए। ‘केही दिन अझै तापक्रम बढ्न सक्छ तर कति बढ्छ भन्न सकिँदैन,’ उनले भने। जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ। गर्मी बढ्न सक्ने भएकाले  सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ। गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन्।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन्। चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्।

भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा. संकेत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए। उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताए।

त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उनले बताए।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन्। ‘विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ,’ स्थानीय आरती गौतमले भनिन्।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताए। हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ।

प्रकाशित: १६ जेठ २०८१ २१:१९ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast