विद्यालयमा पढ्दै विद्यार्थी। प्रतिनिधिमूलक तस्बिर। 
                                            दाङ- दाङमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ। निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको संख्या बढिरहेको हाे।
दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन्। तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए। अंग्रेजी माध्यामबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उनकाे भनाइ छ। राप्ती गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजी विद्यालय छाडेर भर्ना भएका छन्।
प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन्। विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ। नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका–१ मा पनि निजी विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन्। प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजी विद्यालयबाट मात्रै भर्ना भएका छन्।
राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन्। प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले सोही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन्। सोही विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेको छ।
यी त केही उदाहरणमात्रै हुन्। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ। अंग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि यसरी विद्यार्थीको संख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताए। सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको संख्या बढ्ने उनको भनाइ छ।
राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ। सोहीअनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न ससाना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताए। उनले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताए। ‘हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ,’ उनले भने, ‘त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ।’

                                             
                                             
                                             
                                             
                                             
                                             

