 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले देशमा संरचनात्मक समस्या झन् पेचिलो बन्दै गइरहेको बताएका छन्। शनिबार (वैशाख १५ गते) इलाम र बझाङमा सम्पन्न उपनिर्वाचन परिणामको समीक्षा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देशका संरचनात्मक समस्या छिटो र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक पार्टी र नेतृत्वको अभावमा मतदाताले पहिलेदेखि भावनात्मक रूपमा जोडिदै आएका पुराना पार्टीहरूलाई परित्याग नगरेको बताए।
प्रतिनिधिसभातर्फ इलाम–२ मा नेकपा एमाले र प्रदेशसभातर्फ बझाङ–१ मा पनि एमालेका उम्मेदवार निर्वाचित भएका छन्। यो परिणामलाई हेरेर नेपाली राजनीति पुनः पुरानै संसदवादी पार्टीहरूको पोल्टामा फर्कियो भन्ने भाष्य जोडतोडका साथ प्रचारित गरिनु भ्रमपूर्ण रहेको डा.भट्टराईको तर्क छ।
उनी सामाजिक सञ्जालमा लेख्छन्,‘वास्तवमा यो पुरानाहरूको आकर्षण र सफलताको प्रतीक होइन बरू नयाँ वा वैकल्पिक पार्टीहरूको कमजोरीको प्रतिबिम्बन हो। देशका गम्भीर संरचनात्मक समस्याहरू (व्याप्त गरिबी र बेरोजगारी, मडारिदो भूराजनीतिक पासो,आन्तरिक जातीय/क्षेत्रीय अन्तरद्वन्द्व, राजनीतिक अस्थिरता, अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्र, सर्वव्यापी कुशासन र भ्रष्टाचारको क्यान्सर आदि) हल हुँदै गएको भए लामो समयदेखि सत्तामा आलोपालो रजगज गर्दै आएका पुराना पार्टीहरूको पुनर्जागरण र त्यसप्रति जनताको आकर्षणको रूपमा व्याख्या गर्न सकिन्थ्यो। तर यथार्थ त्यस्तो होइन।’
डा.भट्टराई थप लेख्छन्,‘देशका संरचनात्मक समस्या झन् पेचिलो बन्दै गइरहेछन्। ती समस्या छिटो र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक पार्टी र नेतृत्वको अभावमा मतदाताले पहिलेदेखि भावनात्मक रूपमा जोडिदै आएका पुराना पार्टीहरूलाई परित्याग नगरेका मात्र हुन् किनकि राजनीति कहिल्यै पनि शून्यमा बस्दैन। अतः देशका उपरोक्त संरचनात्मक समस्या समष्टिगत र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवस्यकता घटेको होइन बढेको छ। भविष्यमा झन् बढेर जानेछ।’
डा.भट्टराईले यस्ताे स्थितिमा नयाँ वैकल्पिक शक्तिहरूले गम्भीर आत्मसमीक्षा गरेर,आआफ्ना टुसाउँदै गरेका अहम्लाई बेलैमा मठारेर, एक आयामिक वा पपुलिस्ट हाेइन समष्टिगत अग्रगामी एजेन्डा अँगालेर बृहत् वैकल्पिक शक्ति निर्माण र ध्रुवीकरण अभियानमा लाग्नुपर्ने नत्र देश र जनताको सास्ती अझै लम्बिने पनि बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 