टर्कीमा रोजगारी दिने भन्दै चार करोड ठगी, एक जना पक्राउ

हिमाल प्रेस ३१ वैशाख २०८१ १९:४४ | Monday, May 13, 2024
टर्कीमा रोजगारी दिने भन्दै चार करोड ठगी, एक जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी आज (सोमबार) प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भने, ‘टर्कीको यूएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मीनबहादुर कार्कीलगायत एक सय २४ जना व्यक्तिबाट चार करोड ३४ लाख उठाएपश्चात् सम्पर्कविहीन भई फरार रहेको उजुरीका आधारमा पक्राउ गरेका हौँ।’

आरोपित श्रेष्ठले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा पीडितहरूसँग भेटेर सुरुमा ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति तीन लाख लिएको अनुसन्धानबाट खुलेको  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले बताए।

उनका अनुसार पीडितहरूबाट लिएको रकमले आरोपित श्रेष्ठले चाबहिलमा सालो नाता पर्ने सुजन भुजेलका नाममा ३ करोड ५० लाखमा घर किनेको भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोबाट ठगी मुद्दामा अनुसन्धानमा परी श्रेष्ठकी पत्नी सुरुची भुजेल र सालो सुजन भुजेल पुर्पक्षका लागि कारागारमा पठाइसकिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-७ चावहिलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए। रासस

प्रकाशित: ३१ वैशाख २०८१ १९:४४ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast