 
                             
                                            पोखरा- कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपित गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी खारेज गर्न माग गर्दै निवेदन दिएकोमा न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न अस्वीकार गरेको हो।
राहदानी ऐनको दफा १२ मा सहकारीसम्बन्धी कसुर उल्लेख नभएको भन्दै अदालतले अस्वीकार गरेको छ। ‘राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेशबमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख्न अदालतले लेखी पठाएको,’ दफा १२ को १ (ख) मा उल्लेख छ।
राईलाई विदेशबाट पक्राउ गरी ल्याउन राहदानी रद्द गर्नुपर्ने माग गर्दै कास्की प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा गएको थियो।
जीबी राई संस्थापक अध्यक्ष रहेको सूर्यदर्शनले १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली बनाएको छ।
सहकारीका पदाधिकारी तथा सञ्चालकसमेतले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालनमा मुद्दा विचाराधीन छ। १९ जनालाई प्रतिवादी बनाइएको मुद्दामा अझै १५ जना फरार छन् ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 