 
                             
                                            काठमाडौँ- गायक, संगीतकार तथा कलाकार प्रकाश सपूतले फिल्म ‘वसन्त’ निर्देशन गर्ने भएका छन्। उपत्यकाको बिग मुभिजमा कार्यक्रम गर्दै सपूतले फिल्मको निर्देशनको घोषणा गरेका हुन्।
निर्माण घोषणासहित फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। चार मिनेट ४१ सेकेन्डको टिजरमा आरन व्यावसाय गर्ने विपन्न वर्गका सन्तान वसन्तको लेखक बन्ने सपनालाई देखाइएको छ। साथै फिल्मको कथालाई ‘वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एक तप्का…’ भनिएको छ।
टिजरमा कमलमणिका छोरा बनेका छन् प्रकाश। अभिनेत्री स्वस्तिमा खड्का शान्ति पात्रको भूमिकामा देखिएकी छन्। उनी उपल्लो जातकी हुन्। वसन्त र शान्तिको प्रेम कथा पनि टिजरमा देख्न सकिन्छ।
प्रकाश र स्वस्तिमाले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नुपर्छ’जस्ता गीतको भिडियोमा सहकार्य गरेका थिए।
प्रकाशकै लेखन र संगीत रहने फिल्मको टिजरमा उनीसहित स्वस्तिमा खड्का, कमलमणि नेपाल, अनुप बराल र प्रकाश घिमिरे अटाएका छन्। सामाजिक कथामा आधारित फिल्म बागलुङमा छायांकन गरिनेछ। फिल्म आगामी चैतमा प्रदर्शन गर्ने प्रकाशको तयारी छ। गलबन्दी प्रोडक्सनले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन्।
प्रकाश समयअघि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अनुबन्धित भएका छन्। उनी ‘परदेशी-२’ बाट नेपाली फिल्म अभिनयमा प्रवेश गरेका हुन्।
यस्ताे छ टिजर

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 