जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

हिमाल प्रेस १५ जेठ २०८१ ७:५७ | Tuesday, May 28, 2024
जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस २०८१ को अवसरमा आज जारी गरेका शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु’, सन्देशमा भनिएको छ, ‘यसै कुरालाई हृदयंगम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु।’

लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं संक्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका र कानूनी राज्यको अवधारणासहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने उद्देश्यलाई आत्मसात गरेको छ।’

नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भएपनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ।

प्रकाशित: १५ जेठ २०८१ ७:५७ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast