गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको पनि छानबिन गर्न राप्रपाको माग

हिमाल प्रेस ९ जेठ २०८१ २०:२४ | Wednesday, May 22, 2024
गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको पनि छानबिन गर्न राप्रपाको माग राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपको पनि छानबिन गरिनुपर्ने बताएको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जस्तै गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गरिनुपर्ने धारण व्यक्त गरेको हो।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरूपणको विषय बनिसकेको छ।

राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ। नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ।’

यस्तै बैठकमा राप्रपाको यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरूमाथि बृहत् छलफल भएको छ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका छन्। प्रस्तुत प्रतिवेदनहरूलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने राप्रपाले जनाएको छ।

प्रकाशित: ९ जेठ २०८१ २०:२४ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast