 
                             
                                            सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट पर्न थालेको छ। धारामा पानी आउन छाडेको छ भने इनार तथा कुवामा पानी सुक्न थालेको छ।
टोलैपिच्छे खनिएका बोरिङले कुवाको पानी छिट्टै सुक्न थालेको स्थानीय बासिन्दा बताउँछन्। खानेपानीको समस्या समाधानका विषयमा स्थानीय सरकारले चासो नदिएकाले आफूहरुले वर्षाैँदेखि समस्या भोग्दै आएको उनीहरुको गुनासो छ।
‘घरमा धारा छन्, पानी आउँदैन। सार्वजनिक पँधेरामा पानी पाउन मुस्किल छ’, वीरेन्द्रनगर १ की पवित्रा खड्काले भनिन्। खानेपानीकै लागि छिमकीसँग झगडा गरिरहनुपरेको पीडा उनको छ। उनी भन्छिन्, ‘आफ्नो घरमा धारा छैन, इनार पनि छैन। सार्वजनिक धारामा कहिलेकाहीँ पानी आउँछ त्यो पनि साँझबिहान झगडा गर्नुपर्छ।’
धारामा करिब दुई सातासम्म पानी नआउँदा निकै समस्या भोग्नुपरेको स्थानीय कल्पना गौतम बताउँछिन्। ‘यस वर्ष इनारमा पनि छिट्टै पानी सुक्यो। दैनिक पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउँछ’, उनले भनिन्।
पानीको स्रोत घट्टै गएपछि कालीमाटी टोलमा रहेको सार्वजनिक कुवासमेत सुक्न थालेको छ। कुवामा अचेल बिहान ४ बजेदेखि राति अबेरसम्म पानी भर्नेको भीड लाग्छ। पानीको पालो कुर्दाकुर्दै कहिले त रित्तै भाँडो बोकेर घर फर्किनुपरेको स्थानीय शोभा चौधरी सुनाउँछिन्।
वीरेन्द्रनगर–५ चिसापानीस्थित गणेश मन्दिरनजिक रहेको सार्वजनिक कुवा पनि सुक्न थालेको छ। ‘दैनिक हजारौँ घरधुरीलाई पानीको प्यास मेटाउने यो कुवा सुक्दै गएको छ’, स्थानीय मनीषा गुरुङले भनिन्।
स्थानीय र प्रदेश सरकारले खानेपानी समस्या समाधानका लागि चासो नदिएको गुनासो उनको छ। उनी भन्छिन्, ‘समस्या समाधान गर्छौँ भनेर आशा देखाउँछन् काम गर्दैनन्। अब हामी रित्ता भाँडा बोकेर नगरपालिका धाउँछौँ।’
पानी अभावमा वीरेन्द्रनगरका घरधनीभन्दा भाडामा बस्नेहरु झन् समस्यामा छन्। कोठाभाडाभन्दा बढी महसुल तिर्दा पनि चाहिएका बेला पानी नपाएको वीरेन्द्रनगर–६ मा बस्दै आएकी सिर्जना कठायतको गुनासो छ। उनी भन्छिन्, ‘इनारमा पानी छैन, घरबेटीले ट्यांकरको पानी किन्दा हामीले पनि उत्तिकै पैसा तिर्न लगाउँछ। हिजोआज त कोठा भाडा भन्दा पानीमा बढी पैसा खर्च हुन्छ।’
चुनावका बेला नेताहरुले पानीको समस्या समाधान गर्ने बाचा गर्छन्। चुनाव जितेपछि बेवास्ता गर्दा समस्या समाधान हुन नसकेको गुनासो स्थानीयको छ। खानेपानीको एजेन्डा कागजमा सीमित भइरहँदा नागरिकहरु आक्रोशित छन्। विगतमा कुवामा पानी सुके पनि इनारबाट केही समस्या टरेको थियो तर यस वर्ष इनार सुकेपछि संकट परेको छ।
सुख्खायामका कारण पानीको स्रोत सुक्न थालेपछि उपभोक्तालाई पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका डम्बर गौतम बताउँछन्।
‘गर्मी सुरु भएपछि ७२ घण्टाको फरकमा हामीले पपानी वितरण गर्न थालेका छौँ। मुहानमा ४० प्रतिशत पानी घटेको छ’, उनले भने। संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आए पनि मागअनुसार पानी पु¥याउन नसकेको गौतम बताउँछन्।
वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानको दीर्घकालीन विकल्पका रूपमा हेरिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको गति सुस्ताएको छ। खानेपानी परियोजना सुरु भएको ६ वर्ष बित्दा पनि आयोजना सम्पन्न हुने कुनै टुंगो छैन।
निर्वाचनमा मतदाता रिझाउन नेताहरुको चुनावी नारासमेत बन्ने गरेको यो आयोजना निर्माणको काम भने कछुवाको गतिमा छ। बजेट हुँदाहुँदै पनि निर्माण कार्यमा ढिलाइको कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको छ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानी समस्या सामाधानका लागि भेरी लिफ्टिङको आयोजनालाई अघि सारेको र त्यसको टेन्डर प्रक्रिया भर्खर सुरु भएको भेरी लिफ्टिङ आयोजनाका प्रमुख सञ्जीव शाहले जानकारी दिए। उनले आयोजनाको प्रक्रिया सकिनेबित्तिकै असोजबाट काम सुरु गरी तीन वर्षमा सम्पन्न हुने बताए।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खानेपानी समस्या सामाधानका लागि वीरेन्द्रनगर नगरपालिकाले भेरी लिफ्टिङको आयोजना अघि सार्नुका साथै मुहान सुधार प्रक्रिया अघि सारेको जानकारी दिइन्। खानेपानीको समस्या सामाधानका लागि बोरिङको वितरण गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख ढकालले जानकारी दिइन्।
यस्तै वीरेन्द्रनगर नगरपालिका पूर्वनगर प्रमुख देवकुमार सुवेदीले वैकल्पिक खानेपानी आयोजना निर्माण गर्नुपर्ने बताए। स्थानीय सरकारले आवश्यक स्थानको ठाउँ पहिचान गरी २०–२५ वटा स्थानमा बोरिङ खनेर पानी वितरण गर्ने मुहानहरुको सुधार गर्न आवश्यक रहेको उनले जानकारी दिए।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 