कक्षाकोठामा शिक्षामन्त्री : पुस्तक जतन गर्न आग्रह

हिमाल प्रेस ३० वैशाख २०८१ १९:०३ | Sunday, May 12, 2024
कक्षाकोठामा शिक्षामन्त्री : पुस्तक जतन गर्न आग्रह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनःप्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताएकी छन्।

मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनःप्रयोगबारे कार्यक्रम राखेको छ। आज (आइतबार) काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पुस्तक जतन गरेर राख्न उनले सुझाव दिइन्।

‘तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ,’ मन्त्री श्रेष्ठले भनिन्।

उनले विद्यार्थीहरूलाई किताब कसरी विद्यार्थीको हातमा पुग्छ भन्ने प्रक्रियाबारे बुझाएकी थिइन्। ‘पाठ्यक्रम विकास केन्द्रले किताब तयार गरेर छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई दिन्छ र केन्द्रले पुस्तक छापेर प्रादेशिक डिपोमा पठाउँछ। प्रादेशिक डिपोले जिल्लागत स्थानीय बिक्रेता कहाँ पठाउँछ र त्यहाँबाट विद्यालयले  खरिद गरी विद्यार्थीलाई पुस्तक दिन्छ,’ मन्त्री श्रेष्ठले भनिन्। उनले पुस्तकलाई ढोग्ने र सुरक्षित राख्ने हाम्रो संस्कार रहेकाले  पुस्तक सुरक्षित राख्न आग्रह गरिन्।

आठ कक्षाको मात्रै पुस्तक अर्कोपल्ट प्रयोग गर्ने हो भने खाजा खर्च २० रुपैयाँ गर्दा एक लाख ३६ हजार छ सय १३ जना अरू विद्यार्थीले दिवा खाजा पाउने उनको भनाइ थियो। सरकारले पुस्तक सुरक्षित राखेर फिर्ता गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: ३० वैशाख २०८१ १९:०३ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast