 
                             
                                            काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अंक तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो।
कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो। टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए।
त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए।
अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले ३-३ विकेट लिए भने आन्द्रे रसले २ तथा सुनिल नरेन र मिचेल स्टार्कले १-१ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो। कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले।
उनले यस क्रममा ६ चौका र ७ छक्का हिर्काए। उनलाई अंगकृष रघुवंशी र फिल साल्टले ३२-३२ रन बनाउँदै राम्रो साथ दिए।
खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल-हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले १-१ विकेट लिए।
जितपछि ११ खेलबाट कोलकाताको १६ अंक छ। टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अंकसहित पाँचौँ स्थानमा सीमित छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 