सुदूरपश्चिम- मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याउने भएको छ। त्यसका लागि नक्सांकन र सीमांन भइसकेको छ।
भजनी नगरपालिका-७, लालबोझी गाउँको पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरेर साबिककै स्वरूपमा ल्याउन लागिएको हो।
डिभिजन वन कार्यालय पहलमानपुरको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र वनरक्षकलगायतका संयुक्त टोलीले जेसीबी र स्काभेटर प्रयोग गरी ताललाई पुरानै स्वरूपमा ल्याउन लागिएको हो।
दुई दिनदेखि आठवटा स्काभेटर र जेसीबी प्रयोग गरी निरन्तर काम भइरहेको छ। ताल नजिकै रहेको मोहना नदीमा बर्खायाममा बर्सेनि आउने बाढीसँगैको बगेको माटो र बालुवाले ताल पुरिएपछि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए।
पुरिएर अतिक्रमणमा परेको ताललाई साबिककै स्वरूपमा फर्काउने कामको स्थलगत अनुगमन निरीक्षण पश्चात प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले तालको नक्सांकन र रेखांकनको काम पूरा भई ताललाई साबिककै स्वरूपमा ल्याउन लागिएको बताए।
‘ताललाई साबिककै स्वरुपमा ल्याएर संरक्षण गर्न वन डिभिजन कार्यालयलाई निर्देशन दिइएको छ, नगर प्रमुखलाई यो काममा सहयोग गर्न आग्रह गरेका छौँ,’ उनले भने।
सरकारले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण हटाउन गरेको परिपत्रबमोजिम यो तालको अतिक्रमण हटाई संरक्षण गर्न लागिएको हो।
तालको अतिक्रमण हटाउन सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वय भएको थियो।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण रहेको बताए। पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रूपमा रहेको स्थानीयको भनाइ छ।
यो ताल क्षेत्र सीमापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘करिडर’का रूपमा लिइन्छ। तालको अतिक्रमण हटाइ पुरानै स्वरुपमा फर्काउन सकिएमा जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्या-पर्यटनको विकास हुने भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको भनाइ छ।
वडा नं ७ का अध्यक्ष अमरबहादुर कठरियाका अनुसार २०६४ र त्यसपछि पटक-पटक मोहना नदीमा आएको ठूलो बाढी तालमा पसेपछि पूरै ताल पुरिएको हो।
‘ताल पुरिएर स्थानीयले खेती लगाउन सुरु गरेपछि यहाँ तालको पुरानो स्वरूप देखिँदैन,’ उनले भने, ‘ताल पुरिँदै गएपछि ताल छेउमा जग्गा हुनेले अतिक्रमण बढाउँदै लगेपछि पूरै ताल खेतमा परिणत हुन पुगेको हो।’ रासस