काठमाडौँ- विश्वका कैयन् मुलुकले नेपाल भ्रमणमा सहसचिव स्तरको कूटनीतिक अधिकारी पठाएर उच्च स्तरको भ्रमण खुम्च्याइरहका बेला कतारका अमिर सेख तमिम बिन हमाद अल थानीले नेपाललाई उच्च प्राथमिकता दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर नेपालको दुईदिने भ्रमणका लागि मंगलबार काठमाडौँ आएका हुन्।
विज्ञहरूले यसलाई कूटनीतिक पहलविनाको उपहार भ्रमणका रूपमा लिएका छन्। तथापि अमिरको भ्रमणले अन्य उच्चस्तरको भ्रमणका लागि भने बाटो खुलाएको छ। संसारको धनीमध्ये कतारका राष्ट्र प्रमुख नेपाल आउनु सामान्य होइन, त्यो पनि लगानी सम्मेलनको केही दिनअघि।
हुन त पाँच वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गरेपछिको यो ‘रिटर्न’ भ्रमण हो। भण्डारी २०७५ कात्तिकमा तयारीविना हुल बाँधेर भ्रमणमा गएकी थिइन्। त्यो भ्रमण नेपालका लागि खासै उपलब्धिमूलक बन्न सकेन।
विदेशीलाई स्वागत गर्नुभन्दा आफैँ भ्रमणमा जान रुचाउने नेपाली नेता र कूटनीतिक कर्मचारीको प्रवृत्ति छ। त्यसैले सम्बन्धित मुलुकले चाहेमात्र नेपालमा उच्च स्तरको भ्रमण हुँदै आएको छ। यो हाम्रा कूटनीतिक अधिकारी र नेतृत्वको कार्यशैलीको कमजोर पक्ष हो।
नेपाली नेताहरूको पहलमा खासै उच्चस्तरीय भ्रमण हुँदैन। नेपाली अधिकारीहरू प्रायः बाहिर जान रमाउँछन्। कतिपय नेपाली नेताले उपहारका लागि समेत भ्रमण गर्दै आएका छन्। नेपालका सरकार र राष्ट्रप्रमुखहरू नगए पनि हुने मुलुकमा पनि पुगिरहन्छन्। कतारका अमिरको भ्रमण राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा हुन लागेको हो। कतारले आउने मनसाय देखाएपछि नेपालबाट औपचारिक निम्ता पठाइएको थियो।
कतार विश्वको धनी मुलुकको सूचीमा छ। त्यो मुलुकले नेपालसँग पानी र माटो खोजिरहेको छ। हामीले त्यसमा किन सम्झौता गर्न सकिरहेका छैनौँ? यस विषयमा छलफल र बहस हुनुपर्नेमा सरकारको नेतृत्व गर्नेले खासै चासो राखेको देखिएको छैन। कूटनीतिक माध्यमबाट छलफल गर्नुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोकाँचो भाषण गर्दै आएका छन्। यति विषय पनि नबुझ्ने प्रधानमन्त्रीले कतारका अमिरसँग कसरी कूटनीतिक पहल गर्लान्? कूटनीतिक कार्यक्रममा पनि चर्का र सस्ता अभिव्यक्ति दिने प्रचण्डको शैली छ।
नेपालका तर्फबाट कतार भ्रमण हुँदा कृषि, पशुपालन, शुद्ध खानेपानी, पूर्वाधार विकास, विमानस्थल निर्माणलगायतका विषयमा छलफल हुँदै आएको छ। यसबारे कुनै निर्णयचाहिँ भएको छैन। विगतमा भएका छलफल फेरि उठान गर्ने र अब कुन विषयमा वार्ता गरेर आफू अनुकूल सम्झौता गर्ने भन्ने विषयमा नेपाली पक्षबाट तयारी भएको पाइँदैन। वर्तमान उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पार्टी काममा व्यस्त रहेकाले कूटनीतिक गतिविधि ओझेलमा छ।
दुई वर्ष साउदीको नेतृत्वमा खाडी मुलुकको नाकाबन्दीमा परेको कतार अहिले आफ्नो उत्पादनमा आत्मनिर्भर हुन थालेको छ। बाहिरबाट माटो लगेर खेती गर्न थालेको छ। गाईबस्तु पाल्ने, दूधको परिकार बनाएर निर्यात गर्ने लगायतको काम गरिरहेको छ। नाकाबन्दीका समयमा कतारको नेतृत्वदेखि आमनागरिक निकै तनावमा थिए तर कुशल नेतृत्वले त्यसलाई तलमाथि हुन नदिई मुलुकलाई विश्व बजारमा चिनाउन सफल भयो। त्यो सिक्न पनि कतारका अमिरलाई नेपालले विशेष स्वागत गर्नुपर्छ। नेपालले यतिबेला कतारी अमिरसँग नेपाल कसरी आत्मनिर्भर हुने भन्ने विषय जान्न खोज्नुपर्छ र त्यहाँको असल अभ्यास सिक्नुपर्छ।
कतारबाट भ्रमण हुँदा अन्य राष्ट्रका नेतृत्वलाई पनि नेपाल आउन प्रोत्साहन मिल्नेछ। मंगलबार र बुधबार नेपालमा रहने कतारका अमिरसँग सरकारले मुलुकको विकासमा थालनी कहाँबाट सुरु गर्ने भन्ने सिक्न आवश्यक छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्र स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरे पनि यसलाई बाहिर ल्याइएको छैन। सरकारले शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको भनिए पनि के कस्ता सम्झौता स्पष्ट पारिएको छैन। कतारी टोलीले जसरी कुरा गर्छ त्यहीअनुरूपको तयारीमा नेपाल सरकार छ। यद्यपि कतारबाट आएको उच्चस्तरको टोलीसँग नेपालका अधिकारीहरू छलफलमै छन्।
आमनागरिक सडकबाट अमिरसँग विपिन जोशीलाई खोज्न अनुरोध गर्ने तयारीमा छन्। असोज २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भयो भने हमासले बन्दी बनाएको भनिएका जोशी सम्पर्कमा आएका छैनन्।
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी टोली सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएको थियो। कतार पछिल्लो समय इजरायल र हमाससँग वार्ता तथा युद्धविरामका लागि मध्यस्थता गरिरहेको मुलुक हो। कतारकै पहलमा हमासले अन्य मुलुकका नागरिकलाई मुक्त गरिरहेको छ।
कतार एक समृद्ध मुलुक हो। लगानी सम्मेलनको मुखमा हुन लागेको यो भ्रमणले विश्वभर सकारात्मक सन्देश प्रवाह हुनेछ नै।
वर्षमा १२ खर्ब रुपैयाँबराबर विप्रेषण विभिन्न मुलुकबाट भित्रिन्छ। यसमा कतारको योगदान करिब ३० प्रतिशत रहेकाे तथ्यांकले देखाउँछ। मुलुकको अर्थतन्त्रकै प्रमुख खम्बा बनेको विप्रेषणको स्रोत हुँदाहुँदै पनि कतारमा नेपाली कामदारले न्यूनतम पारिश्रमिकमा काम गरिरहेका छन्। उनीहरूले मानवअधिकारका लागि संघर्ष गर्नुपरेको छ। नेपाली कामदार सामाजिक सुरक्षा र न्यूनतम मानवीय स्वतन्त्रताबाट वञ्चित छन्।
कतिपय त आफ्नो कमाइ महँगो शुल्क तिरेर नेपाल पठाउन बाध्य छन्। कतारका अमिरसँग नेपाली कामदारले श्रमअनुरूपको पारिश्रमिक नपाएको विषय पनि उठान गर्न सक्नुपर्छ। कतारमा साढे चार लाख नेपालीले काम गरिरहेका छन्। २०४६ को परिवर्तनपछि कतार जाने नेपालीको संख्या बढेको हो। त्यसअघि औँलामा गन्न सकिने नेपाली मात्रै कतार पुग्थे।
कतारीलाई लगानी गराउन पनि नेपालले सक्नुपर्छ। वैशाख १६ र १७ मा लगानी सम्मेलन हुँदैछ। कतारी अमिर ११ र १२ नेपालमा रहन्छन्। त्यसैले यो निकै महत्त्वपूर्ण समय हो। कतारी अमिरसमक्ष नेपालमा सम्भावित लगानीका विषयमा पनि छलफल गर्नुपर्छ। कतारको नेपालमा सामारिक स्वार्थ छैन। सोही कारण पनि कतारबाट नेपालमा लगानी ल्याउन सकेमा फाइदा हुनेछ। अनि कतारलाई ठूलो संख्यामा श्रमिक चाहिने देखिन्छ। कतारले नेपालबाट घरेलु कामदार चाहेको छ। जसरी इजरायलमा लगेकाे छ त्यो ढंगले नै लैजान्छ भने स्वीकृति दिनु उपयुक्त हुन सक्छ।
कतारले पनि नेपालबाट आफ्ना सेखको सुरक्षाका लागि प्रहरी माग गरिरहेकाे छ। नेपालले त्यस विषयमा कुरा गर्न सक्नुपर्छ। इन्धनको व्यापार खुम्चने चरणमा रहँदा त्यसको विकल्पमा विश्वव्यापी लगानीकाे पाटो पनि कतारले खोजिरहेको छ। त्यसको लागि नेपालले अमिरसँग त्यही ढंगले पहल गर्न सक्नुपर्छ। उपहार दिएर मात्र हुँदैन योजनाको स्पष्ट खाका उपलब्ध गराउन सक्नुपर्छ। विश्वको भूराजनीतिमा बदलाव आइरहेको छ। त्यसमा कतारले आफूलाई मध्यस्थताको भूमिकामा परिचित गराउन खोज्छ। यस क्षेत्रमा पनि उसले सफ्ट पावरकै भूमिका देखाउन खोजेको स्पष्ट छ।
यी विविध अवसरलाई नेपालले गुमाउनु हुँदैन। कतारी अमिर नेपालमा एक रात बिताउन आउँदा निकै महत्त्वका साथ सार्वजनिक बिदा दिइएको छ। यस्तो अवस्थामा नेपालले आफ्नो कुरा स्पष्ट राख्नुपर्छ। चुनावी भाषणका रूपमा होइन कूटनीतिक रूपमा स्पष्टसँग राख्नुपर्छ। अनि मात्रै कतारी अमिरको नेपाल भ्रमण सार्थक हुनेछ। अन्यथा अमिर आए अमिर गए मात्र हुनेछ।