काठमाडौँ– २०८० सालमा राजधानीका नाटकघर चलायमान रहे। थिएटरमा नाट्यकर्मीमात्र नभएर विभिन्न राजनीतिक दलका नेताहरूले पनि पाइला टेके। प्रत्येक महिनाजसो नाटकघर भरिभराउ रहे। नाटक मञ्चनमा होडबाजी चल्यो। एकै समयमा दुईभन्दा बढी नाटक प्रतिस्पर्धामा उत्रिए।
नाटकमा दर्शक बढेपछि कलाकार उत्साहित हुनु स्वाभाविकै हो। व्यस्ततासँगै लोकप्रियता बढेको कलाकारहरू बताउँछन्। नाट्यकर्मीहरू भने नाटकमा जति लगानी हुन्छ त्यसअनुसार आम्दानी नभएको बताउँछन्। सहयोगदाताबाट आएको रकम जोड्दा केही हदसम्म निर्माण टिमलाई फाइदा मिल्छ। उनीहरूका अनुसार प्रायोजक र सहयोग आएका केही नाटकमात्र लगानी सुरक्षित गर्न सफल भएका छन्।
नाटक क्षेत्र व्यावसायीकरण नहुँदा सोचेअनुरूप लगानी उठाउन नसकेको नाट्यकर्मीहरूको गुनासो छ। दर्शककै भर पर्नुपर्ने भएकाले लगानीकर्ता माथि उठ्न सकिरहेका छैनन्। दर्शकको घुइँचो देखिए तापनि एक सो र सीमित सिटले लगानी सुरक्षित हुन निकै गाह्रो पर्छ। व्यक्तिगत लगानीबाट नाटक मञ्चन गरिरहेका निर्माताहरू बताउँछन्।
एउटा थिएटरमा सीमित सिटमा नाटक दैनिक एक सो मञ्चन हुन्छ। एउटा थिएटरमा डेढ सयजति सिट हुन्छन्। विद्यार्थीलाई तीन सय, सामान्य व्यक्तिका लागि पाँच सय र विशिष्टलाई एक हजार रुपैयाँको टिकट दर तोकिएको छ।
एउटा नाटक निर्माण गर्न न्यूनतम एक लाख खर्च लाग्ने नाट्यकर्मीहरू बताउँछन्। नाटकको विषयवस्तु, निर्माण टिम, कलाकार हेरेर नाटकमा लगानी हुन्छ। स्क्रिप्ट लेखन, निर्देशन, रिहर्सल, रंगमञ्च निर्माण, प्रकाश व्यवस्थापन, थिएटरलाई दिनुपर्ने सो भाडा, कलाकारको तलब, खाजा/खाना खर्च, वेषभूषालगायत खर्च हुने क्षेत्र हुन्।
एकजना कलाकारले एउटा नाटकमा अभिनय गर्न कम्तीमा तीन महिना समय दिनुपर्छ। एक महिना पढ्न, दुईदेखि तीन साता रिहर्सलमा र एक महिना नाटक मञ्चनमा बित्छ। लेखक तथा अनुवादक शिव खाँड ठकुरी चारदेखि पाँच लाखसम्ममा राम्रो नाटक बन्ने बताउँछन्। ‘कतिपय नाटक होम प्रोडक्सनबाट बनेको हुन्छ’, उनले भने। ठकुरीले थिएटरकै प्रस्तुति रहेको नाटकमा कम लगानी हुने बताए। ‘नाटक खर्चिलो विधा हो’, उनले भने, ‘नाटकबाट लगानीकर्ताले बढी गुमाइरहेको हुन्छ।’
नाटक निर्माता गोविन्द पराजुलीका अनुसार कथावस्तुअनुसारको रंगमञ्च बनाउन उत्तिकै खर्च लाग्छ। उनी भन्छन्, ‘कलाकार छनोटले पनि लगानी थपघट हुन्छ।’ नाटकको एउटा सोबापत निर्माण टिमले थिएटरलाई २० हजार रुपैयाँसम्म भाडा तिर्नुपर्छ।
वर्षभरिमा उपत्यकाभित्र र बाहिर गरी ६० भन्दामाथि नाटक मञ्चन भए। कथाका दृष्टिले ‘झोडा’, ‘मासिन्या’, ‘पगला घोडा’, ‘गुलाफ’, ‘वेडिङ एल्बम’, ‘दामिनी भीर’, ‘ह विन्दु राम पण्डित’, ‘ब्यूँझिएको सिरानी’, ‘बोधी-सत्व’, ‘मोन्टाज’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ ‘काल’, ‘नासो’, ‘कर्तव्य’, ‘समय पीडा’ ‘एउटा सपनाको अवसान’, ‘मार्क्स फर्किए’ जस्ता नाटक चर्चामा रहे।
मण्डला थिएटरमा २०७९ चैतमा मञ्चन सुरु भएको नाटक ‘एउटा सपनाको अवसान’ २०८० वैशाखको अन्तिमसम्म मञ्चन भएको थियो। नाटकका निर्माता गोविन्द पराजुलीका अनुसार २८ लाख लगानीमा बनेको नाटकले २३ लाख १६ हजार संकलन गरेको थियो।
आत्महत्याका विषयमा बनेको नाटकमा सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रूपान्तरण गर्ने अनि अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा नाटकमा छ।
‘झोडा’ मञ्चन गर्दा नौ लाख रुपैयाँ खर्च भयो। यस अवधिमा १२ सय दर्शकले नाटक हेरे। नाटकले साढे ८ लाख कमाएको निर्देशक चेतन आङथोपोले बताए। तराईमा झोडा फाँडेर बस्ने आदिवासी जनजाति समुदायको कथा समेटिएको नाटकमा २०२८ देखि २०३२ सालसम्म झोडाको संक्रमणकालीन समय प्रस्तुत गरिएको छ।
दर्शकको चापले उपत्यकामा केही दिन सो पनि थपिएको थियो। यो नाटक पहिला झापाको दमकस्थित किराँत भवनमा मञ्चन गरिएको थियो। त्यसपछि मात्र काठमाडौँमा मञ्चन गरिएको नाटकका निर्देशक आङथोपो बताउँछन्।
साउनमा ‘युद्धका घाउहरू २.०’ को सात सो मञ्चन भयो। ५० हजार लगानीमा बनेको नाटकले प्रायोजकका कारण एक लाख ६० हजार कलेक्सन गरेको निर्देशक अन्जान प्रदीपले बताए। ‘यो हाम्रो ब्याचको नाटक हो। छोटो समय भए पनि राम्रो लगानी उठ्यो’, उनले भने।
भदौमा मञ्चन भएको नाटक ‘दमिनी भीर’ अर्को चर्चित नाटक हो। नाटकका निर्देशक इँगिहोपो कोइँच सुनुवारका अनुसार करिब एक महिनासम्म चलेको नाटकमा कलाकारलाई दिने पारिश्रमिक कटाएर मञ्चन सकिँदा ८ लाख लगानी भएको थियो। नाटकले १५ लाख आम्दानी गरेको सुनुवारले बताए। लगानी सुरक्षित गरेपछि कलाकारलाई पारिश्रमिक दिन सहज भएको थियो। उनले भने, ‘तयारी गरेर नाटक निर्माण गरियो भने खर्च केही हदसम्म कम हुन्छ।’
नाटक ‘ह विन्दु राम पण्डित’ मा सात लाख खर्च भएको निर्माण टिमले जनाएको छ। नाटकले लगानी सुरक्षित गर्न सकेको निर्देशक बारात लिम्बूले बताए। ‘टिकट दरले मात्र लगानी उठाउन असहज थियो’, उनले भने, ‘हाम्रो प्रोडक्सन टिमको प्रायोजिक राम्रो भएकाले कलाकारलाई पारिश्रमिक दिनचाहिँ पायौँ।’
सर्वनाम थिएटरका प्रशिक्षार्थीले पुसमा मञ्चन गरेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ एक सातामात्र चल्यो। परिकल्पनाकार तथा निर्देशक रसिक राजका अनुसार नाटकको मञ्चन सकिँदा एक लाख लगानी पुगेको थियो। ‘प्रायोजककै कारण छोटो समयमा नाटकले लगानीमात्र उठाउन सक्यो’, उनले भने।
असोजमा मञ्चित ‘ब्यूँझिएको सिरानी’ मा दर्शकको चाप बढेपछि मंसिरमा फेरि मञ्चन भयो। नाटकका परिकल्पनाकार तथा निर्देशक जेडी तमुका अनुसार नाटकमा १६ लाख लगानी लाग्यो। प्रायोजकसहित नाटकले लगानीमात्र उठाउन सकेको निर्देशक तमूले बताए। नाटक मानसिक स्वास्थ्यका विषयमा आधारित छ।
मंसिरमा मञ्चन भएको नाटक ‘काल’ निर्माण गर्दा करिब चार लाख लगानी लागेको परिकल्पनाकार लेखक तथा निर्देशक रामभजन कामतले बताए। समीक्षात्मक रूपमा नाटकले राम्रो प्रतिक्रिया पायो। दुई साता चलेको नाटकबाट करिब डेढ लाख कलेक्सन भएको थियो।
पुसमा मञ्चन भएको ‘पगला घोडा’ का लेखक शिव खाँडका अनुसार ५ लाख लगानी बनेको नाटकले करिब ९ लाख आम्दानी गरेको थियो। नाटकमा महिला र पुरुषको सम्बन्ध, पुरुषसत्तात्मक समाजमा महिलाको स्थान र बढ्दो आत्महत्याको विषय प्रस्तुत गरिएको छ।
माघमा मञ्चित नाटक ‘मासिन्या’ एक महिनासम्म चलेको थियो। निर्देशक बुद्धि तामाङका अनुसार नाटकले करिब २९ लाख आम्दानी गरेको थियो। नाटक हेरेपछि विभिन्न संस्थाबाट आएको सहयोग र सिट क्षमताभन्दा बढी दर्शक आउँदा केही आम्दानी वृद्धि भएको उनी बताउँछन्। नाटकमा तामाङ समुदायले सदीयौँदेखि भोग्दै आएको उत्पीडनको कथा छ। साथै उनीहरूको जीवनपद्धति, संस्कृति र परिवेश देखाइएको छ।
कौसी थिएटरका सञ्चालक सुदाम सीकेका अनुसार गत वर्ष थिएटरमा मञ्चन भएको नाटकले सोचअनुरूप दर्शक बटुल्न सकेन। कौसीमा साढे दुई लाखदेखि १२ लाखसम्मका पाँच नाटक मञ्चन भयो। नाटक ‘वेडिङ एल्बम’ मा केही सहयोगदातामार्फत लगानी सुरक्षित गर्न सकेको सीके बताउँछन्। उनका अनुसार अन्य नाटकको लगानी उठाउन मुस्किल पर्यो।
छैन सरकारी चासो
नाटकको व्यवसायीकरणका लागि संघसंस्था, नाट्य प्रतिष्ठान र राज्यले पनि बजेट छुट्याइदिनुपर्ने नाट्यकर्मीको माग छ। निर्देशक तथा नाट्यकर्मी बारात लिम्बू नाटकहरू निजी लगानीमै सीमित छन्। ‘सरकारी संघसंस्थाबाट नाटकमा लगानी नहुँदा नाट्य क्षेत्र फेसन, मनोरञ्जनमात्र भएको छ’, उनले भने।
सरकारले ऐन बनाएर यो क्षेत्रमा काम गर्ने हो भने नेपाली रंगमञ्च छिट्टै व्यवसायीकरण हुने उनको बुझाइ छ। ‘नाट्कर्मी पर्दा पछाडि, नेपथ्यमा काम गर्ने कलाकार, निर्माण टिममा होमिएका सबैको पारिश्रमिक तोकिनुपर्छ। यसले व्यवसायीकरणतर्फ सहयोग पुर्याउँछ।’ उनले भने।
निर्माता गोविन्द पराजुली पनि नाटक व्यवसायीकरण नहुँदा लगानी नउठेको बताउँछन्। उनी नाटक मञ्चनपछि डिजिटलाइजेसनमा हेर्न मिल्ने पनि बनाउने प्रक्रियामा लागिरहेका छन्।
नाटकको आम्दानी बढाउन उद्योगी व्यवसायीसँग सहकार्य गर्नुपर्ने उनी बताउँछन्। ‘राज्यले पनि सहयोग गर्नुपर्छ’, उनले भने। नाट्य निर्देशक रामहरि ढकाल पनि बारात र गोविन्दको कुरामा सहमत छन्। सरकार कमजोर भएकाले नाट्य क्षेत्र स्वतन्त्र हुन नसकेको उनको जिकिर छ। राजयबाट पनि संगीत नाट्य एकेडेमीमा लगानी गरेर स्वतन्त्र थिएटर धराशयी बनिरहेको उनले औँल्याए।
नाटकको वर्गीकरण हुनुपर्छ : शिव खाँड ठकुरी
नाटक निर्माणमा दुःख भए पनि त्यसअनुसारको मूल्यांकन नभएको लेखक तथा अनुवादक शिव खाँड बताउँछन्। ‘नाटक रचना गर्ने, निर्माण गर्ने र अभिनय गर्ने सबैलाई दुःख धेरै छ तर त्यसअनुसार मूल्यांकन हुन सकेको छैन’, खाँड भन्छन्, ‘महँगो लगानीमा नाटक बनाएपछि त्यहीअनुसारको आम्दानी हुनुपर्छ।’
उनी नाटकको वर्गीकरण गर्नुपर्ने पक्षमा छन्। पशिक्षार्थीले र अन्य कलाकारले गर्ने अभिनयमा धेरै अन्तर हुने उनी बताउँछन्। ‘नाटकमा नयाँनयाँ दर्शक आइरहँदा उनीहरूमा नराम्रो छाप पर्न जान्छ। नयाँ कलाकार र पोख्त कलाकारको छुट्टिनुपर्छ’, उनले भने।
दैनिक एक सोमात्र हुने भएकाले नाटकहरू घाटामै हुने खाँड बताउँछन्। कुनै समुदाय विशेषको नाटक बढी चल्नछ। उनीहरूले मात्रै लगानी उठाएर नाट्य क्षेत्र उकासिँदैन। ‘वर्षमा एउटा नाटकले लगानी उठाएर नाट्य क्षेत्र उकासिन सक्दैन’, उनले भने, ‘वर्षमा आधा दर्जन नाटकले लगानी उठाउन सक्नुपर्छ। त्यसपछि मात्र नाटकले राम्रो गरिरहेको छ भन्न सकिन्छ।’
थिएटरमा दर्शक घटिरहेका छन् : सुदाम सीके
नाटकघर सीमित छैनन्। सबैतिर नाटक चलिरहँदा दर्शकको चाप देखिनु स्वाभाविक मान्छन् कौसी थिएटरका सञ्चालक सुदाम सीके। एउटा समुदायमा आधारित नाटक मञ्चन भएर दर्शक आए भन्दैमा नाटकमा दर्शक बढेको भन्न नमिल्ने उनले बताए।
‘विगतमा भन्दा अहिले दर्शक घटिरहेका छन्। एकपटक नाटक हेरेपछि उनीहरू फेरि थिएटरमा देखिँदैनन्। प्रत्येक नाटकमा नयाँ दर्शक उपस्थित भइरहेका हुन्छन्’, उनले भने।
पहिले एउटै दर्शक पटकपटक नाटक हेर्न आउने गरेको उनको अनुभव छ। ‘पहिले दर्शक थिएटरमा आइरहन्थे। उनीहरू परिवारजस्तै बनिसक्थे। अहिले युवा विदेश पलायन भइरहका छन्। नाटक सिकेकाहरू पनि स्वदेशमा बसेका छैनन्’, सीकेले भने।
कुन थिएटरमा कति नाटक मञ्चन?
मण्डलामा १७ वटा
२०७९ चैत १० देखि मञ्चनरत नाटक ‘एउटा सपनाको अवसान’ २०८० सालको वैशाख १४ सम्म चल्यो। अन्य क्रमशः वैशाखमै ‘जून’, जेठमा ‘बुद्ध र भिखारी’, असारमा ‘कोराघाट’ र ‘हिँउभन्दा चिसो’, साउनमा ‘चक्र’ र युद्धका घाउहरू २.०’, भदौमा ‘दमिनी भीर’, असोजमा ‘ब्यूँझिएको सिरानी’ र ‘वान्स अ होर्स’, मंसिरमा ‘मानिस हराएको सूचना’, पुसमा ‘पगला घोडा’ र ‘गुलाफः यशोधराको जागरण यात्रा’, माघमा ‘मासिन्या’ र ‘द जू स्टोरी’, फागुनमा ‘अन्धवेग’, चैतमा ‘आकाशको बाटो’।
आरोहण गुरुकुलमा पाँचवटा
२०७९ चैत १७ देखि मञ्चनरत नाटक ‘मार्क्स फर्किए’ २०८१ वैशाख २२ सम्म चल्यो। जेठमा ‘आधा अपुरो’, असोजमा ‘म पनि मान्छे हुँ’, मंसिरमा ‘काल’ र पुसमा ‘नासो’।
पुरानो घरमा चारवटा
वैशाखमा ‘चे एज ब्याक’, असारमा ‘ट्युवेल’, साउनमा ‘घरको माया’ र मंसिरमा ‘मोन्टाज’।
ओजस (शैली) मा पाँचवटा
वैशाखमा ‘मृत्यु कुण्ड’, भदौमा ‘हराएकी म’, मंसिरमा ‘कर्तव्य’, माघमा ‘समय पीडा’ र फागुनमा ‘एक चिहान’।
सर्वनाममा तीनवटा
जेठमा ‘च्यातिएको पर्दा’, पुसमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ र माघमा ‘द डिपार्चर’।
कौसी थिएटरमा पाँचवटा
जेठमा ‘त्रयम्’, असारमा ‘लाइक लेट्स अभिनय गरौं’, असोजमा ‘वेडिङ एल्बम’, मंसिरमा ‘बोधी-सत्व’ र चैतमा ‘उबुर उबुर टिक्की’।
शिल्पी थिएटर सातवटा
जेठमा ‘मेटाफिजिक्स’, साउनमा ‘ट्रान्जिट’, भदौमा ‘ह बिन्दु राम पण्डित’, असोजमा ‘कालो अक्षर रातो अक्षर’ र मंसिरमा ब्यूँझिएको सिरानी पुनः मञ्चन भयो। माघमा ‘गंगालाल’, फागुनमा ‘झोडा’।
स्टुडियो थिएटरमा एउटा
चैतमा ‘कुमार जेलमा कि कुमार रेलमा’।
कदम थिएटरमा तीनवटा
झापास्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’, ‘लङ टाइम नो सी’ र ‘मनचिन्ते फिरन्ते’।
पोखरा थिएटरमा तीनवटा
‘रिफन्ड, ‘धनीरामको गोरु’, ‘१२ दुर्वासा’।
इलामको चुलचुली रंगमञ्चमा
नाटक ‘झोडा’, चेतना नाट्य समूहको ‘चियाबारी :मीठो चियाको कथा’ ।
विराटनगरको सुशीला कोइराला नाटकघरमा
‘सत्य हरिशचन्द्र’
उपत्यकामा एकदिनमात्र मञ्चन भएका नाटक
शिल्पीमा ‘मधेसतिर १९९८’, ‘सावित्रीको बाख्रो’, ‘मासु बेच्ने केटो’ र ‘जे थर्टी थ्री’। थिएटर मलमा ‘चिरूचिरू मिचिरू’। सर्वनाममा ‘रूपान्तरण’, ‘हामी किन हाँस्ने’ र ‘लक्ष्य/मी’।