गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : प्रधानमन्त्री

हिमाल प्रेस ९ वैशाख २०८१ १५:०८
8
SHARES
गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

महेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यक पर्ने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन्।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए।

‘युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ’, प्रधानमन्त्री प्रचण्डले भने, मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ।’

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

उनले सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ।’

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान संकायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरु गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए। ‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ’, प्रधानमन्त्रीले भने, ‘विश्वविद्यालय स्थापनाका लागि ऐन निर्माणलगायतका काम द्रुत गतिमा अगाडि बढिरहेका छन्।’ उनले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोसेढुंगो साबित हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए।  ‘विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एकापसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ’, प्रधामन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast