
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद झन् उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभामा नाउपाका संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छन्।
पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ। श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी हुन्।
यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन्। तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन्। घनश्याम रेशम चौधरी पक्षका हुन्। यसअघि श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन्। नाउपामा रञ्जिता र रेशम चौधरीबीच विवाद बढ्दो छ।