प्रत्यक्ष विश्वनाथका रूपमा काशीनगरलाई सुशोभित गर्नुहुने महात्मा शिवशंकर भारतीज्यू चैत २५ मा भौतिक शरीर परित्याग गरी चैतन्यस्वरूप विश्वनाथमा लीन हुनुभएको छ। यतिबेला उहाँलाई चिन्ने नेपाल र भारतका सबै सन्तसमाज तथा विद्वत्समाज विक्षिप्त बनेको छ। २०६६ सालतिर पाशुपत क्षेत्र (नेपाल) मा आगमन हुँदा पशुपति, श्रीशंकराचार्यमठ र राममन्दिरको बसाइका क्रममा ब्रह्मलीन शिवशंकर स्वामीज्यूको प्रत्यक्ष दर्शन गर्ने सौभाग्य पाएको यी पङ्तिलेखकको अन्तस्तलमा स्मृतिका रूपमा सुरक्षित छ।
श्रीविद्याका सिद्ध स्वामीबाट दीक्षा लिने अभिलाषा राख्नुभएका स्वामी रमणानन्द गिरि श्रद्धासुमन समर्पण गर्दै लेख्नुहुन्छ, ‘हजुरको दिव्य दर्शन, मनोविजयसम्बन्धी विलक्षण उद्बोधन र गुरुवचनमा अटुट श्रद्धासम्बन्धी चल परो भन्ने कथाको सन्दर्भलाई निरन्तर स्मरण गर्दछु। विश्वनाथको आज्ञा भए जहिले जहाँ प्रकट भएर पनि दीक्षा या शक्तिपात गर्नु सक्छु। त्यसैले मसँग होइन विश्वनाथसँग प्रार्थना गर भनी बताउँदा यहाँको परमात्मासँगको तादात्म्य भावको अनुभव भएको थियो। सचल विश्वनाथले आफूलाई अचल विश्वनाथकै विग्रहमा समाहित गर्नुभएछ। हरहर महादेव। ब्रह्म वेद ब्रह्मैव भवति।’
यसबाट पनि स्वामीज्यूमा भगवान् विश्वनाथप्रतिको तन्मयता र उच्चकोटिको साधकता विद्यमान रहेको बोध हुन्छ। यति मात्रै होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ, नेपाल र भारतका साधुसन्त, साधक, विद्वान्, धार्मिक समाजले भारती स्वामीजीको विद्वत्ता र भगवद्निष्ठाको प्रशंसापूर्वक स्मरण गरेका छन्।
दर्शनशास्त्रका नेपाली विद्वान् डा. वैकुण्ठ घिमिरे आजका दिनमा भारतवर्षमै उहाँजत्तिको शांकर वेदान्त/अद्वैत दर्शनका निष्णात विद्वान् अन्य कोही नै सायद नभएको बताउनुहुन्छ। उहाँका अनुसार स्वामी शिवशंकर भारतीज्यू विश्वनाथका नियमित उपासक र श्रीविद्या वा दशमहाविद्याका उच्चकोटिका साधक हुनुहुन्थ्यो।
नित्य बिहान १ बजे उठेर गंगास्नान गर्नु, २ बजेदेखि विश्वनाथको मंगल आरतीमा सहभागी हुनु, त्यसपछि (४ बजेपछि) आफ्नो आश्रममा फर्किएर दिवा १२/१ बजेसम्म श्रीविद्याको उपासना गर्नु, त्यति नै बेला कुनै भक्तले ल्याइदिएको प्रसाद ग्रहण गर्नु र आश्रममा आफूसँग पढ्न आएका उच्च कोटिका साधक/उपासकलाई वेदान्त दर्शन अध्यापन/प्रवचन गर्नु स्वामीजीका दिनचर्या थिए।
स्वामीज्यूले ‘खण्डनखण्डखाद्य’ नामक अद्वैतग्रन्थमाथि विद्वत्तापूर्ण ‘शारदा’ नामक संस्कृत टीकाका साथै अनेक ग्रन्थ लेखन तथा सम्पादन गर्नुभएको छ। उहाँका यस्ता बौद्धिक कार्यबाट अद्वैत दर्शन परम्परामा अद्वितीय अवदान पुगेको छ। नेपाल र नेपालीलाई असाध्यै स्नेह गर्ने स्वामीजीका सेवक भवचैतन्य (भवानी) नेपाली नै थिए। केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका पीठाधीश तथा सुरथेश्वर वैदिक अनुसन्धान केन्द्र पोखराका पीठाधीश डा.चिद्घनचैतन्य (लेखनाथ) जी समेत स्वामीबाटै दीक्षित शिष्य रहेको डा.घिमिरेले बताउनुभयो।
स्वामी भारतीको विद्वत्ता र साधनालाई नजिकैबाट नियाल्नुभएका नेपालका संस्कृत विद्वान् प्रा.डा. गुरुप्रसाद सुवेदी ब्रह्मलीन स्वामीज्यूलाई तन्त्रविद्या तथा दशमहाविद्याका अद्वितीय साधकका रूपमा चिनाउनुहुन्छ। सुवेदी भन्नुहुन्छ, ‘ब्रह्मलीन स्वामी डा.रामानन्द गिरिज्यूको स्वभावसँग (दुर्वासाऋषिसदृश) धेरै तुलनीय रहेकाले जोकोही व्यक्ति उहाँको सन्निकट जान हच्कन्थ्यो र जो पुग्न सक्थ्यो ऊ स्वामीज्यूको असाध्यै कृपापात्र बन्न सक्थ्यो।’
काशी विश्वनाथसमीप ललिताघाटमा साधनारत स्वामी भारती उच्चकोटिका साधक एवं सारस्वत भइकन पनि अतिरिसाहा र रिस उठेपछि चिम्टाले हान्न समेत पछि नपर्ने भएकाले जोकोही व्यक्ति स्वामीजीको समीपमा जानै नसक्ने अनुभवसमेत प्रा.डा.सुवेदीले सुनाउनुभयो।
नेपालका प्रसिद्ध विद्वान् प्राध्यापक दुर्गा दाहाल आफ्नो फेसबुकवालमा स्वामीजीप्रति पद्यपञ्चकमार्फत यसप्रकार श्रद्धासुमन समर्पण गर्नुहुन्छ :
‘श्रद्धाञ्जलिसुमं श्रीमद्भारतीमुनयेSर्पये’
(श्रीभारती मुनिप्रति यो शब्द श्रद्धाञ्जलि)
संस्कृते :
आसीद्य: शंकरः साक्षान्मुनिः शंकरभारती।
योSवाप ब्रह्मसायुज्यमिति श्रुत्वास्मि विस्मितः।।१।।
क्षेत्रे पाशुपते साकं रामेण विदुरेण च।
मयापि बहुधा तस्य दर्शनं विहितं पुरा।।२।।
ज्ञानस्य सेवधिर्त्यागी तपस्वी ब्रह्मविच्छिखा।
अद्वैतामृतसिन्धूत्थः स आसीदुडुराडिव।।३।।
कलौ युगेSपि तत्तुल्या जायन्ते ज्ञानमूर्तयः।
अहो! भारतभूरेषा धन्यास्ति स्वर्गतोSप्यतः।।४।।
कल्पितो ब्रह्मभूयायेति श्रुत्वैव महात्मने।
तस्मै वाक्कुसुमैरेतैर्दत्तोSयं चरमोSञ्जलिः।।५।।
नेपालीमा :
जो शंकर भारती मुनि साक्षात् शिवस्वरूप नै हुनुहुन्थ्यो, उहाँले ब्रह्मसायुज्य प्राप्त गर्नुभएको सुनेर चित्त अत्यन्त व्याकुल भएको छ।।१।।
पाशुपत क्षेत्रमा भगवान् पशुपतिनाथका अगाडि वरिष्ठ विद्वान् विदुर गुरु र महान् सन्यास महात्मा स्वामी रामानन्दका साथ हामीले पनि पहिले धेरैपल्ट उहाँको दर्शन पाएका थियौँ।।२।।
ज्ञानका खानी, त्यागी, तपस्वी र ब्रह्मज्ञानीका शिखर हुनुभएका भारती स्वामीजी अद्वैतामृतसिन्धुबाट प्रकट हुनुभएका चन्द्रमाजस्तै हुनुहुन्थ्यो।।३।।
यस्तो कलियुगमा पनि उहाँजस्ता ज्ञानमूर्ति महात्मा प्रकट हुँदैहुनुहुन्छ। यो अत्यन्त प्रसन्नताको विषय हो किनभने यी आर्यावर्तभूमि स्वर्गभन्दा पनि बढी धन्य धन्य छिन्।।४।।
त्यस्ता महात्मा ब्रह्मलीन हुनुभएको सुनेर हामीले यी वाणीरूपी अन्तिम श्रद्धाकुसुमाञ्जलि समर्पण गरेका छौँ।।५।।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक पोस्ट गर्दै यसप्रकार समवेदना प्रकट गरेका छन् – ‘भगवान् विश्वनाथ के परम भक्त महाप्रयाण का दुःखद समाचार काशी से प्राप्त हुआ… मंगला आरती में बाबा विश्वनाथ की सेवा में शिवशंकर महाराज अनवरत उपस्थित होते थे। काशी की संत परंपरा के लिए उनका प्रयाण एक बड़ी क्षति है। शिव स्वरूप में संत श्री भारती जी महाराज के विलीन होने पर उनको विनम्र श्रद्धांजलि। ॐ शान्ति !’
त्यस्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि स्वामी भारतीजीप्रति श्रद्धासुमन समर्पण गर्दै शोक प्रकट गरेका छन्। उनले समाजिक सञ्जाल एक्समा लेखेका छन् – ‘समाज और आध्यात्मिक जगत के लिए संत भारती जी का महाप्रयाण अपूर्णीय क्षति है। बाबा विश्वनाथ से प्रार्थना है कि अपने परमधाम में दिव्यात्मा को स्थान दें और उनके शिष्यों के साथ ही अनुयायियों को यह दुःख सहने की शक्ति दें। ॐ शांति!’
यसबाट ब्रह्मलीन स्वामीजी श्रीकाशी विश्वनाथ भगवान्का परम भक्तका रूपमा प्रतिष्ठित तथा वन्दनीय हुनुहुन्थ्यो भन्ने अवगत हुन्छ।
आफूलाई स्वामीजीका अनन्य शिष्यका रूपमा चिनाउने डा. वासुदेवकृष्ण शास्त्री स्वामीजीले १०८ वर्षको उमेरमा शरीर परित्याग गर्नुभएको बताउनुहुन्छ। डा.शास्त्रीका अनुसार नेपाल राष्ट्र र नेपाली छात्रहरूप्रति अति नै माया गर्ने स्वामीजीको भौतिक अवसानले आफू अत्यन्त भावविह्वल भएका छन्।
भारतको राजस्थानमा जन्मिए पनि नेपाल र नेपालीलाई विशेष वात्सल्य प्रदान गर्दै आउनुभएका स्वामी भगवान् पशुपतिनाथ र भगवती गुह्येश्वरीको दर्शनार्थ समयसमयमा नेपालभूमि आइरहनुहुन्थ्यो। उहाँले कार्ष्णिगुरु शरणानन्द स्वामी, महामण्डलेश्वर पुण्यानन्द गिरि, ब्रह्मलीन डा.स्वामी रामानन्द गिरि, स्वामी भागवतानन्द, स्वामी आत्मानन्द गिरि, स्वामी ज्ञानानन्द सरस्वती, स्वामी रमणानन्द गिरि, डा. स्वामी केशवानन्द गिरि, डा. रुद्रानन्द स्वामी, प्राध्यापक स्व.विदुरप्रसाद पौडेल आदि नेपाली सन्तसमाजबाट विशेष सम्मान पाउनुभएको थियो।
साथै भारतीय वा नेपाली विद्वान्लाई समेत आफ्नो विद्वत्ताको प्रभावले वशीभूत पार्न सफल रहनुभएका, आबाल ब्रह्मचर्य धारणपूर्वक, युवावस्थामै सन्न्यास ग्रहण गरी निवृत्तिमार्गमा लाग्नुभएका र शांकर वेदान्तको नित्यनिरन्तर अध्ययन, अनुसन्धान वा श्रवण, मनन, निदिध्यासनमा जीवन समर्पित गर्नुभएका अद्वितीय श्रोत्रिय ब्रह्मनिष्ठ विद्वान्, परम वीतरागी जीवन्मुक्त महात्मा, श्रीविद्याका उच्च साधक एवम् विश्वनाथका अनन्य समुपासक एवं शारदावरदपुत्र श्रीशिवशंकर चैतन्य भारती स्वामीज्यूको भौतिक अवसानबाट सिंगो सनातन धर्मसंस्कृतिका अनुयायी, संस्कृत तथा वैदिक वाङ्मयका समुपासनारत समग्र भारतवर्ष नै शोकसन्तप्त बनेको छ।
सनातन धर्मसंस्कृति तथा संस्कृत विद्याको परम्परामा उहाँको भौतिक अभावले अपूरणीय क्षति पुगेको छ। हामी सबैका परमवन्दनीय तथा समुपपासनीय ब्रह्मलीन स्वामीज्यूप्रति यिनै शब्दमार्फत् श्रद्धासुमन समर्पण गर्दै समस्त शोकाकूल सनातन संस्कृति तथा संस्कृतविद्याका समुपासकप्रति शोक सहन गर्ने सामर्थ्य आशुतोष भगवान् श्रीपशुपतिनाथले प्रदान गरून् भन्ने प्रार्थनासहित समवेदना प्रकट गर्दछौँ। ॐ शिवसायुज्यमस्तु!! जयतु संस्कृतम्!!
[शांकर वेदान्तका उपप्राध्यापक डा. घिमिरे वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्छन्।]