हाइकुलाई क्यानभासमा उतार्ने गोधूलि दिनेश

सुस्मिता बजगाईं २५ चैत २०८० २०:१२
296
SHARES
हाइकुलाई क्यानभासमा उतार्ने गोधूलि दिनेश हाइगाबारे जानकारी दिँदै गोधुली दिनेश (दायाँ)।

काठमाडौँ- ‘हाइगा’ अर्थात् कुनै चित्रको क्यानभासमा कोरिएको एउटा हाइकु कविता। यसलाई त्रिकोणात्मक साहित्यक कलाको रूपमा मानिन्छ। एउटा हाइगामा हाइकु, काव्यकला, चित्रकला र हस्तकलाको समिश्रण हुन्छ।

बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार गोधूलि दिनेश (प्रा. दिनेशप्रसाद चापागाईं) ले तीनदिने हाइगा नामक झिल्को चित्रकला प्रदर्शन गरे। प्रदर्शनीमा ७५ वटा तस्बिरहरू राखिएको थियो। प्रत्येक हाइगामा उनले नेपालका चर्चित साहित्यकारको हाइकुमा कला भरेका छन्। हाइगालाई नेपालमा भित्र्याउने पहिलो कलाकार हुन् गोधूलि दिनेश। पहिलो हाइकु लेख्ने साहित्यकार हुन् शंकर लामिछाने। उनको कविता यस्तो थियोः

माकुराको जाल
झोलिएको ओशले
तन्किँदै गयो

यो कविता रुपरेखा पत्रिकामा प्रकाशन भएको थियो, जसलाई दिनेशले हाइगामा उतारेका छन्। ‘हरेक साहित्यमा त्यसको शाब्दिक अर्थमात्र बुझेर हुँदैन,’ चित्र देखाउँदै उनले भने, ‘त्यसले मानवीय जीवनमा कस्तो असर र प्रभाव पारिरहेको छ, त्यसलाई पनि बुझ्न जरुरी हुन्छ।’ लामिछानेको यो हाइकुले मानवीय जीवनलाई चित्रित गरेको छ। प्रत्येकमा चित्रसहित हस्तलिखित हाइकुहरू थिए। प्रदर्शनीमा यात्रा हाइगा, सहयोगात्मक आइगा, ऋतुगत हाइगा भनेर छुट्याइएको थियो।

हाइगामार्फत दिनेशले मौसमी उतारचढाव र प्राकृतिक प्राणीहरूमा हुने परिवर्तन, मानवीय भावनाको अभिव्यक्ति झल्काए। कविता, चित्रकला र हस्तलिपि छुट्टाछुट्टै विधा हुन्। हाइगा निर्माण गर्न पहिले कविता लेख्ने हो कि चित्र बनाउने भन्ने कुरा महत्त्वपूर्ण हुने चित्रकार दिनेश बताउँछन्। ‘हाइकु भनेको संसारकै छोटो कविता हो,’ चापागाईं भन्छन्, ‘यो हाइगाको मुटु हो। हाइकु नभईं हाइगा बन्न सक्दैन।’

चित्र र हाइकुको समिश्रणपछि नयाँ संवेग उत्पन्न हुन्छ, जसलाई दर्शकले हाइकु पढेपछि मात्र चित्र हेरेर त्यसको रहस्य बुझ्न सकिने उनी बताउँछन्। दर्शकले हेर्न र देख्न सकिने भएकाले नै यसलाई हाइगा भनिएको उनको बुझाइ छ।

‘कुनै पनि कुरा वस्तु हेरेरमात्र पुग्दैन त्यसलाई देख्न पनि सक्नुपर्छ, जसले हाइगालाई पूर्ण बनाउँछ,’ उनी भन्छन्, ‘हाइकुलाई चित्रसँग जोडेर कुनै नयाँ संवेग प्रदान गर्न हाइगा महत्त्वपूर्ण हुन्छ।’ गोधूलि दिनेश २०२८ सालमा पहिलोपटक जापान गएका थिए। त्यसपछि कामको सिलसिलामा पाँच दशक उनी जापान भ्रमण गरिरहे। त्यसबेला त्यहाँको संगत, त्यहाँका सफल किताबमा रहेका हाइकु पढेर उनले चित्र र हाइकुलाई मिलाएर हाइगा बनाउन सिके।

हाइकु लेख्न र त्यसमा कलालाई ‘सिन्क्रोनाइज’ गर्न थालेपछि उनले आफ्नो नाम अगाडि ‘गोधूलि’ राखेका हुन्। उनी सुरुसुरुमा फोटोमा साहित्य लेख्थे। पछि उनलाई चित्त बुझेन। ‘फोटोमा त कविता घुमाउन पाइयो तर चित्रमा कसरी घुमाउने?,’ उनी भन्छन्, ‘विदेशतिर कम्प्युटरबाट त बनाउने चलन छ तर मलाई हातैले बिगार्न मन लाग्यो।’ हाइगा स्पर्शात्मक हुनुपर्छ भन्ने दिनेशलाई लाग्छ।

‘पहिले सौख थियो। त्यतिखेर यति इच्छा जाहेर भयो कि अहिले यो प्रति तृष्णा जागेर आउँछ,’ उनले भने। पेसाले दिनेश इन्जिनियर हुन्। काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङको डिनबाट २०६२ सालमा अवकाश पाएपछि मात्र उनले हाइगाको सिर्जना गर्न थालेका हुन्।

उनले कोरेको हाइगा तथा हाइकुहरू २०७२ सालदेखि अन्तर्राष्ट्रिय स्तरका किताब संग्रह र अनलाइन प्रिन्ट जर्नलमा निरन्तर प्रकाशन भइरहेका छन्। उनले कोरेका हाइकुहरू फ्रेन्च, पोर्चुगिज, अंग्रेजी र जापानीजलगायत विभिन्न भाषामा अनुवाद गरेर प्रकाशित भएका छन्। गोधूलि दिनेशले सन् २०१८ मा करिब ८० हाइगा संकलन गरी पुस्तक प्रकाशित गरिसकेका छन्।

साहित्यिक माहोलमा हुर्किएका दिनेश

दिनेशको बाल्यकाल नै साहित्यक माहोलमा हुर्कियो। उनका पिता स्व. कृष्णप्रसाद चापागाईँका टुक्राटाक्री, रसबरी चमचमजस्ता कालजयी पुस्तकका रचनाहरू सुनेर उनको बाल्यकाल बित्यो। उनलाई सानैदेखि चित्र कोर्नमा रुचि थियो। विद्यालय पढ्दा दुईवटा चित्र कोरेको उनलाई याद छ।

त्यतिखेर उमर खैयाम र राम सीताको उनले चित्र बनाएका थिए, जसलाई उनकी आमाले फ्रेममा राखेर कोठामा झुन्ड्याइदिएकी थिइन्। आमाको त्यो प्रोत्साहनले उनीप्रति अझ चित्र कोर्ने प्रेरणा जाग्यो। सानै उमेरदेखि नै उनलाई चित्र कोर्न, कविता लेख्न, नाटक खेल्न, लेख्न नृत्य गर्न रस थियो।

त्रिचन्द्र क्याम्पस पढ्दा सात्यिकार रत्न शमशेर, नातीकाजी, नारायण गोपाल, रवीन्द्र शाहलगायतका साहित्यकारहरूसँग उनले संगत गर्ने मौका पाए। तर उनी इन्जिनियरिङ पढ्न विदेश गएपछि साहित्यतर्फ लाग्ने अवसर पाएनन्। आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसरबाट वञ्चित भए। इन्जिनियर बनेर नेपाल फर्केपछि कामतर्फ नै व्यस्त भएका थिए।

काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङको डिनबाट अवकाश पाएपछि उनी फेरि साहित्यतर्फ मोडिएका हुन्।

प्रकाशित: २५ चैत २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast