बुटवलमा रोटरीको १६औँ डिस्ट्रिक्ट सम्मेलनमा हाम्रै डिल्लीबजार रोटरी क्लबबाट पनि थुप्रै रोटरियन जाने तयारी रहेछ। मन न हो, जता लग्यो त्यतै मोडिन्छ। जे सोच्यो त्यही भइन्छ। आखिर बुटवल र लुम्बिनी पनि जाने भन्ने कुरा निधो गरी म, पत्नी र छोरीसहित तीन जना तयार भयौँ। चैत १ का दिन हामी बुध्द एयरको फ्लाइटबाट भैरहवा एयरपोर्टमा अवतरण गर्यौँ।
आन्तरिक टर्मिनल भवनसँगै नयाँ अन्तर्राष्ट्रिय एयरपोर्ट बनिएर ठडिएको छ तर फ्लाइट शून्य। ओहो यो के भएको? अबौँ रुपैयाँको ऋण लिएर बनाइएको एयरपोर्टमा कुनै फ्लाइट आएका देखिन्न। नयाँ भव्य एयरपोर्टको किन यस्तो कन्तबिजोग? साह्रै दुःख लाग्यो। ऋण लिएर यत्रो एयरपोर्ट बनाउनुअअघि यसको बिजनेस प्लान त हुनुपर्ने! यो त साधारण मानिसले पनि बुझेको कुरा हो।
हामी तिलोत्तमा सहरमा नवनिर्मित द क्राउन इन होटलमा बस्यौँ। दुई महिनाअगाडि मात्र खुलेको होटल चुस्त तथा राम्रो रहेछ। स्टाफ पनि मित्रवत् र सहयोगी पायौँ। तीन दिनको बसाइ हामी सबैका लागि मज्जाको भयो।
बुटवलमा नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन भवन निकै ठूलो, फराकिलो तथा भव्य देखिन्थ्यो। सम्मेलनका लागि गरिएका व्यवस्थामा कुनै कमीकमजोरी देखिएन। सम्मेलन समयमै सुरु भयो। बसबाट आएका कतिपय रोटरियन दाउन्ने भन्ने ठाउँमा जाममा परेकाले ढिलो गरी मात्रै पुगेका थिए। हामीचाहिँ हवाईजहाजबाट आधा घण्टामा आउन पाएकाले त्यो झमेलामा परेनौँ।
सन् १९०५ मा अमेरिकी नागरिक पाउल हारिसले आफूभन्दा माथि उठेर समाजको सेवा गर्ने उद्देश्य लिई स्थापना गरेको रोटरीले ११८ वर्ष पार गरिसकेको छ। विश्वभर करिब ३५ हजार रोटरी क्लबमा झण्डै १२ लाख ४० हजार जति सदस्य छन्। रोटरीले गर्ने गरेका सामाजिक कार्यले गर्दा रोटरी र एक असल नागरिक एकअर्काका पर्यायवाची भएका छन्। रोटरीको लोगो कोटको ल्यापलमा लगाएर हिँड्दा पनि एक किसिमको गर्व महसुस हुन्छ। अपरिचितले पनि रोटरीको पिन देखेपछि केही सद्भाव देखाउने गरेको महसुस धेरैलाई हुन्छ।
वास्तवमा रोटरी अभियान एक बृहत् अन्तर्राष्ट्रिय परिवारका रूपमा फैलिइसकेको आभास हुन्छ। केही वर्षदेखि रोटरीका प्रमुख उद्देश्यमा शान्ति प्रवर्धन पनि थपिएको छ। विश्वको कुनाकाप्चासम्म फैलिइसकेको रोटरीमा अन्तर्राष्ट्रिय कूटनीतिबारे चाहिँ उच्चारण पनि हुँदैन।
रोटरीमा हरेक वर्ष १ जुलाईका दिन हेडक्वार्टरदेखि देशमा रहेका क्लबमा नेतृत्व फेरिन्छन्। पात्र फेरिए तापनि काम भने उस्तै छन्। करिबकरिब कार्यक्रम प्रत्येक वर्ष समान हुन्छन्। यस वर्ष एकजना उत्प्रेरक वक्ता (Motivational Speaker) एलपी भानु शर्माको प्रखर भाषण सुन्ने मौका पाएँ, जुन साह्रै मन पर्यो। उहाँले भन्नुभएका कुरा एकदम सही छ।
नेपाल विश्वको एक अलौकिक देश भएर अनगिन्ती सम्पदा भए तापनि विश्वमा हामीले कुनै पनि कुरा ब्रान्डिङ गर्न सकेका छैनौँ। म यसमा सहमत छु। उहाँको भाषण सुनेपछि मन साहै्र प्रफुल्लित भयो। हामी नेपालीले विश्वमा नयाँ जोसजाँगर तथा सोच लिई अगाडि जानु अपरिहार्य छ।
अन्य कार्यक्रम तय भएअनुसार सम्पन्न भए। दिउँसो खाजा खाने बेलामा भएको ठेलमठेल देखेर एकछिन छक्क परेँ। अर्काे दिन भने अघिल्लो दिनको जस्तो बेहाल देख्न परेन। मैले कुल्फी धीत मर्ने गरी खाएँ।
सबै कार्यक्रम सकिएपछि रात्रिभोज तथा मनोरञ्जनका कार्यक्रम रमाइलो खालका थिए। नयाँनयाँ कलाकारले प्रस्तुत गरेका गीतसंगीत तथा नृत्य हेर्दैै रोटरियनहरूले दिनभरिको थकाई मेटे। चल्तीका हिन्दी फिल्मका गीत बजाएर नर्तकीले कम्मर भाँचेर नृत्य प्रस्तुत गर्दा कतिपय रोटरियनले मन थाम्नै सकेनन्। उनीहरूले पनि कम्मर मर्काउन थाले। आखिरमा मानिसको जिन्दगीमा नवरस त आवश्यक पर्छ नै।
कार्यक्रमको दोस्रो दिन चैत ३ गते। रोटरियनहरूको संख्या आधा भइसकेको थियो। कार्यक्रम तालिकाअनुसार चल्यो। सबै व्यवस्था राम्रै थिए। रात्रिभोज र मनोरञ्जनका कार्यक्रम पनि रामै्र थिए। नयाँपन केही थिएन। पात्र फेरिने मात्र हो। चैत ४ का दिन समापन समारोह भव्य रूपमै आयोजना भयो। रोटरियनहरू आआफ्नो बाटो लागे।
म रोटरीका कार्यक्रममा रहँदा पत्नी र छोरीले लुम्बिनीमा गई भगवान् बुद्ध जन्मस्थल अवलोकन गर्ने मौका पाए। रोटरियन डा. लुना अर्यालले मलाई भैरहवामा रहेको आफ्नो युनिभर्सल मेडिकल कलेज देखाउन लगिन्। निजी क्षेत्रबाट यति ठूलो र दमदार मेडिकल कलेज राम्ररी सञ्चालन भइरहेको थाहा पाएर मलाई साहै्र खुसी लाग्यो।
चैत ५ गते हामी नेपाल–भारत सिमानातर्फ लाग्यौँ। बुटवलदखि भैरहवासम्मको ३० किलोमिटर सीधा सडकमा गाडीमा यात्रा गर्दा मलाई साहै्र मज्जा लाग्छ। वास्तवमा यी दुवै सहर राम्रा छन्। सफासुग्घर र सीधा सडक। सिमानापारि सुनौलीबाट अयोध्या जान साला सन्तोष कक्षपतिले एउटा गाडी भाडामा मिलाएर राखेका थिए। गाडी आयो। सवारीचालक फुच्चे भाइ रहेछन्। नामचाहिँ साहिद। हैट्, यस्ताले पनि के गाडी चलाएर लैजाला जस्तो लागेको थियो।
यात्रा गरेपछि मात्रै थाहा भयो, उनी त उस्ताद चालक रहेछन्। गाडीमा पूरा कमान्ड थियो। त्यतिमात्र नभएर उनले गाडी चलाउँदा अगाडि अरू कुनै गाडी हुनै नहुने जस्तै व्यवहार गरे। हर्न बजाएर अगाडिका गाडी साइड लगाउन बाध्य पार्ने। कतिपयले गाली पनि गरे जस्तो लाग्यो। मलाई लाग्यो– हाम्रा सवारीचालक साहिदले आफूलाई सडकको राजकुमार ठान्दा रहेछन्। अनि उनको अगाडि कुनै रोकावट हुनै नहुने।
साहिदले गोरखपुर नगई छिचोलेर गाउँको बाटो अगाडि बढाए। विक्रमजोत भन्ने ठाउँमा पुग्दा झमक्क साँझ परिसकेको थियो। अवधेश ढावामा खाना खायौँ। अयोध्यामा होटल बुक भइसकेको थिएन। सन्तोषले कोसिस गरी राखेकै थिए। काँचुली फेर्न लागेको अयोध्या सहरमा अनलाइनबाट होटल रुम बुक गर्न सम्भव थिएन। दिनको दुई लाख भक्तालु आउने गरेकाले बस्ने समस्या चर्कै देखियो।
सन्तोषले निकै प्रयास गरेपछि अयोध्याका सम्पर्क व्यक्तिले एउटा घर र एरियाको नाम टिपाएर गुगल म्याप पनि पठाए। हामी खुसी भयौँ। रातको ९ बज्न लागिसकेको थियो। गाडी हाइवे नम्बर २४ मै गुडिरहेको छ। बस्ने कता ठेगान भएको छैन। साहिदले गुगल म्याप हेरेर गाडी उतै मोडे। दुर्भाग्य नै भन्नुपर्छ, गाडी त एउटा गाउँले बाटोतिर पो पसेछ। झन्डै आधा घण्टाजति भित्र पसिसक्दा पनि मूल बाटोको अत्तोपत्तो छैन। गाडी फर्काउन नसकिने रहेछ बाटो सानो भएकाले।
बल्ल एउटा पसल भेटियो। सन्तोष र साहिदले सोधपुछ गरे। युवक साहुजी सहयोगी भावनाका रहेछन्। बाटोका सम्बन्धमा जानकारी दिनुको साथै आवश्यक परे गाइड गर्न आउँछु समेत भने। हामीलाई राहत महसुस भयो। राति त्यो पनि जंगलभित्र निर्जन ठाउँ, सही बाटो कुन हो थाहा छैन। परेन फसाद! बल्लतल्ल हाम्रो सडकका राजकुमारले गाडी सही बाटोमा ल्याए। तर फेरि अर्काे आपत्। हामी जुन हाइवेमा जानुपर्ने त्यहाँ त पूरै जाम! ट्रक, लामा बस तथा अन्य गाडीको ताँती हेर्दा लाग्यो अब घण्टौँ सडकमै बित्नेछ। साहिद त आंटिलो पनि रहेछन्। उनले हामी जानुपर्ने बाटोभन्दा विपरीत बाटोबाट गाडी बिस्तारै गुडाए, बत्ती झ्यापझ्याप गर्दै। पूरै गलत दिशामा।
गलत दिशामा गुडिरहेको गाडीको बत्तीले सिग्नल दिइरहेको थियो, हामी इमरजेन्सीमा छौँ भनेर। मादक पदार्थ सेवन गरेका झक्कड, रिसाहा ट्रक-बस चालक परेको भए दुर्घटना हुने प्रबल सम्भावना थियो। त्यो समय सम्झँदा आङ सिरिंग हुन्छ अहिले पनि। उनले गाडी सुरक्षासहित गन्तव्य स्थानसम्म ल्याए। अनि मैले उनलाई सोधेँ, ‘तिमीले गाडी गलत दिशाबाट ल्याएका हैनौ?’ उनले जबाफ फर्काए, ‘हो सर। हाम्रै बाटोबाट गएको भए भोलि बिहान पनि पुगिन्न! यस्तो जाम खुल्न घण्टौँ लाग्छ। त्यसो भएकाले मैले जोखिम लिएको सर।’ सकुशल ल्याएकोमा धन्यवाद दिनुबाहेक अरू भन्ने कुनै कुरै भएन।
हामी होटलमा पुग्दा रातको बाह्र बजिसकेको थियो। केही घण्टा सुतेर उठ्यौँ। अनि हनुमानगढीतिर गयौँ। यस्तै पाँच बजेको हुँदो हो, सयौँ भक्तजन जम्मा भइसकेका थिए। ठेलमठेलमै सिँढी चढिने रहेछ। बीचबीचमा अपरिचित श्रद्धालुले जय सियाराम! भनी कराउने अनि अरूले पनि कराउने। एक किसिमको रमाइलो हुँदोरहेछ। त्यसपछि श्रीरामको मन्दिरतिर लाग्यौँ। मूल सडकमै सबै जम्मा हुँदा रहेछन्।
प्रहरीले बारिकेड बनाएर सबैलाई रोकेको थियो। हर्दाहेर्दै हजारौँ भक्तजन जम्मा भए। हामी चारजना बीचमा थियौँ। हलचल गर्न पनि नसकिने। सात बजेतिर प्रहरीले बारिकेड खोलिदियो। सबैजना जय श्रीराम भन्दै मुख्य मन्दिरतिर दौडिए। मन्दिरमा गहना र नगदबाहेक अन्य सामान लैजान नपाइने रहेछ। सामान जम्मा गर्ने ठाउँमा असाध्यै भीड थियो। सन्तोषले सामान जम्मा गरी आउँदा झन्डै एक घण्टा लाग्यो। मन्दिरको प्रवेशद्वारको सुरक्षा क्षेत्रमा पुरुष र महिलाको लाम छुट्ट्याइयो। त्यहाँ पनि अति नै भीड थियो। प्रहरीका फलामका जस्ता हातले ठेलिँदा अलि दुखाइ नै महसुस भएको थियो। तर त्यसमा प्रहरीको कुनै कैफियत थिएन। त्यति पनि नगरे भीड नियन्त्रण गर्न मुस्किल हुन्थ्यो।
रामलल्लाको अति सुन्दर मूर्तिको दर्शन गर्न जाने बाटोमा स्टिलको छेकवार लगाइएको रहेछ। एकएक जना गरी जानुपर्ने। यसो गर्दा सबैले भगवान् श्रीरामको एक झलक राम्ररी नै दर्शन गर्न पाउँदा रहेछन्। ओहो कस्तो सुन्दर र भव्य मूर्ति! एक झलक दर्शनले नै म आह्लादित भएँ। भगवान् रामसँग आफ्नो माग्नुपर्ने कुरा मागियो। प्रहरीले भगाइहाल्यो।
अयोध्याबाट सुनौली फर्कँदाचाहिँ समस्या भएन। घण्टाको यात्रामा सुबिस्ताका साथ आइयो। बुटवल आउँदा साँझ परिसकेको थियो। भोलिपल्ट सन्तोषको घरमै आराम गर्यौँ। पर्सिपल्ट भैरहवाबाट पोखरा हवाईजहाजमा जाने निधो गर्यौँ। २० मिनेटमा पुग्ने थाहा पाएर टिकट काट्यौँ। चैत ७ गते बिहानदेखि कुइरोले आकाश धम्मरधुस थियो। कतै यसो घामको झुल्को देख्यो कि आशा जागिहाल्ने।
मौसममा सुधार भएन। त्यसकारण हतारहतार गरी माइक्रोबस चढेर पोखरातर्फ हिँडयौँ। बाटोमा धेरै घुम्ती रहेछन्। सवारी चालक पनि उस्ताद रहेछन्। दाहिने हातले श्रीमती हो कि गर्लफ्रेन्डसँग मोबाइलमा कुरा गर्ने अनि देब्रे हातले स्टेयरिङ घुुमाउने। कति ठाउँमा त गाडी उफ्रेर पानीमा माछा उफ्रेजस्तै भएको थियो भने कति ठाउँमा विपरीत दिशामा गुडिरहेको गाडीसँग ठोक्किएलाजस्तै भएको थियो।
त्यही बाटोमा गाडी चलाई रोजीरोटी सेक्ने चालकका लागि त सामान्य कुरा नै होला, हामी जस्ता एकपटक यात्रा गर्ने यात्रुको भने सातो नै जाने! यसरी सवारी हाँकेर आवश्यक समयभन्दा चाँडै ससुराली पिसफुल होटल सामुन्ने गाडी रोकिदिए। ४५० रुपैयाँ बढी दिएँ। तीन पल्ट सलाम ठोकेर खुसी भएर बिदा भएँ।
हामी पोखरामा ६ दिन बस्यौँ। विन्ध्यवासिनी माताको दर्शन गर्यौँ। कुनै जमानामा मातालाई डोकोमा राखी बोकी ल्याएकोमा हालको ठाउँमा आइपुगेपछि म अब कतै जान्नँ, मलाई यतै राख भनेर पुरोहितलाई सपनामा भनेकाले हालको स्थानमा मन्दिर स्थापना भएको किंवदन्ती छ। दिनदिनै कुर्यौँ माछापुच्छ्रे हिमालको दर्शनको आसमा। मौसममा सुधार आउँदै आएन। आजित भएर चैत १२ गते काठमाडौँका लागि पोखराबाट बसमा प्रस्थान गर्यौँ। नौबिसेसम्म त सडक ठिकै रहेछ। नौबिसेबाट उकालो चढेपछि भने बाटोमा ठुल्ठुला खाल्डा भएकाले बस त दायाँबायाँ कोल्टे फेर्दो रहेछ।
साह्रै डर लागेको थियो। बायाँतिर कोल्टे फेरेर बस पल्टियो भने डाँडाबाट सयाैँ मिटर तल खस्न पुगिन्थ्यो। दिनको हजारौँ गाडी, बस, ट्रकको आवातजावत हुने ७० वर्ष पुरानो मूल सडकको अवस्था गएगुज्रेको थियो। मनमा आयो किन हाम्रो देशमा सडकको हालत यस्तो हुन्छ? सडक बनाउन भनी सहायता लिएका अर्बौँ–खर्बौँ रकम कता गयो? सडकभरि धुलैधुलो। धुलोले गर्दा सद्दे मानिस पनि बिरामी पर्न कतिबेर नलाग्ने।
केही वर्षअगाडि कोरियाली पूर्वराजदूत पार्कले मसँग भनेकमा थिए, ‘हामीले राजधानी सिउलबाट पुसान सहरसम्मको ४३० किलोमिटर लामो सुपर एक्सप्रेस वे दुई वर्षमै बनायौँ।’ कोरियाली सरकारले नेपाललाई सडक बनाउन मद्दत पनि गर्न सक्छ। तर हामीकहाँ यस्ता राम्रो कुराको खास सुनुवाइ हुँदैन। १२ दिनको भ्रमण सकेर घरमा फर्कँदा असीम आनन्द महसुस भयो। आफ्नो घर भनेको स्वर्गजस्तै हुँदो रहेछ।