
काठमाडौँ- मिस्टर एण्ड मिस नेसनल-२०२४ का अन्तिम ३० जना प्रतियोगीको घोषणा भएको छ। कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित स्यास सेरेमोनीमा सेमी(फाइनलिस्ट सार्वजनिक गरिएको हो।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय निर्देशक डाक्टर सन्तोष उपाध्ययले बताए।
उनका अनुसार देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीहरुलाई तीन हप्ताको ट्रेनिङ प्रदान गरिने छ भने छनोट भएका सम्पूर्ण प्रतियोगीहरुको पोर्टफोलियो सुटसमेत गराइनेछ।
राष्ट्रिय खेलाडी, व्यवसायी, विद्यार्थी, मोडल चिकित्सक गरी विभिन्न पेशाका युवायुवतीहरुले यस पटक मिस्टर एण्ड मिस नेसनल २०२४ मा भाग लिएका छन्। प्रतियोगीहरुले ट्यालेन्ट राउण्ड, टप मोडल राउण्ड, स्वीम वेयर राउण्ड, एलिगेन्स राउण्ड, फिट्नेस राउण्ड जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
प्रतियोगितालाई अन्तरर्राष्ट्रियस्तरका निर्णायकहरुको उपस्थितिमा मूल्यांकन गर्नेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रशारण प्रतिष्ठित नेपालको राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट गरिनेछ।
विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्याण्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्याण्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।
कार्यक्रममा स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत प्रदान गरियो। स्यास ग्रहण गर्दै प्रतियोगीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए। जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको छ।
उक्त सौन्दर्य प्रतियोगिता ट्रु डर्मासँगको सहकार्यमा हुँदै छ। प्रतियोगिताको टप मोडल राउण्ड र स्वीम वेयर राउण्ड कुश्माके हार्नेस जिप्लाइन्मा आयोजना गर्ने योजना रहेको बताएको छ।