काठमाडौँ- टोखा नगरपालिका-१ मा रहेका कृषि फार्ममध्ये एक हो ग्रिन वर्ल्ड एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि। फार्ममा दैनिक १२ हजारदेखि १४ हजार वटासम्म अण्डा उत्पादन हुने गरेको छ। ५० रोपनी जग्गामा फैलिएको फार्ममा कुखुरा पालनसँगै तरकारी खेती पनि हुन्छ। फार्मका सञ्चालक हुन् भेजराज श्रेष्ठ। उनले एक करोड ५० लाख रुपैयाँ लगानी गरेर फार्म सञ्चालन गरिरहेको बताए।
फार्ममा अहिले ४० हजारभन्दा बढी लेयर्स कुखुरा छन्। ‘मेरो दैनिकी कुखुरा स्याहार्दैमा बित्छ। यति गर्दा पनि स्याहारसुसार पुग्दैन। दैनिक ११ घण्टा त फार्मका लागि समय दिनुपर्छ’, श्रेष्ठले भने।
कृषि पेसामा तत्काल फाइदा हुँदैन। लगानीभन्दा परिश्रम धेरै गर्नुपर्छ। लगानी गरेको ३-४ वर्षपछि मात्र फाइदा हुन्छ। यति समय टिक्न समस्या हुने गरेको श्रेष्ठ बताउँछन्। फार्ममा चार जनाले रोजगारी पाएका छन्। फार्ममा तरकारीसँगै फूल र च्याउखेती गर्ने योजना श्रेष्ठले सुनाए। उनले भने, ‘मौसमअनुसारको नगदेबाली र गाई पालन गर्ने सोचमा छु।’
श्रेष्ठ फार्ममा उत्पादन भएको कुखुराको अण्डा बजारमा पुर्याउन आफैँ जान्छन्। उनी फार्मका सञ्चालक हुन् नै, चालक र हेल्पर पनि आफैँ हुन्।
श्रेष्ठका अनुसार एउटा अन्डाको उत्पादन लागत करिब १६ रुपैयाँ पर्छ। आफूले बिक्री भने १४ रुपैयाँमा बिक्री गर्ने गरेको बताए। उनले भने, ‘तत्काल त घाटामा छ भने अगाडिको लगानी खै?’ चल्ला हुर्काएर अन्डा पार्दासम्मको अवस्थामा गरिएको लगानी घाटामा जाने गरेको उनको भनाइ छ।
यसैगरी नक्कली किसानका कारण पनि आफूहरू समस्यामा पर्ने गरेको उनको गुनासो छ। श्रेष्ठले भने, ‘आधा प्रतिशतभन्दा बढी त नक्कली किसान छन्। झोला बोकेर हिँड्ने किसानले पनि हाम्रो जस्तै पीडा व्यक्त गरिरहेका छन्।’
सरकारले किसानले उत्पादन गरेका सामग्री निश्चित मूल्यमा किन्ने र बजारभाउ निर्धारण गरे बिक्रीमा समस्या नहुने उनको बुझाइ छ। ‘किसानलाई बजारमा आफ्नो उत्पादन पुर्याउन समस्या छ। बजार बिचौलियाको भरमा छ। जसका कारण कृषि पेसा रोजेका किसान मारमा छन्’, उनले भने।
दुःखसुख गरेर उत्पादित बस्तुको भाउ नै नपाइने गुनासो उनको छ। मूल्य नपाएसम्म यसलाई निरन्तरता दिन कठिन हुने उनले बताए। ऋणैऋणमा सञ्चालन गर्न अप्ठ्यारो हुने उनी बताउँछन्। सरकारका निकायहरू किसानमैत्री छैनन्। कहिले कता जा, कहिले कता जा भनेर सरकारी निकायले किसानलाई अन्योलमा पार्ने गरेको गुनासो उनको छ।
सरकारले कृषि क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरे पनि आफूजस्ता किसानको हातमा नआउने गरेको उनको गुनासो छ। ‘कृषिका लागि छुट्याइएको बजेट वास्तविक किसानसम्म पुग्न सकेको छैन।’ उनले किसानका लागि सरकार नरहेको बताए। श्रेष्ठले भने, ‘सरकार भए त किसानका लागि काम गर्दथ्यो नि।’
सरकारले किसानको जमिनसम्म पुगेर किसानको पहिचान गर्नुपर्ने माग उनको छ। यसरी अनुदान वितरण गरे वास्तविक किसानलाई राहत हुने उनले बताए। श्रेष्ठले भने, ‘सरकारले कृषिका लागि योजना मात्र बनाएर हुँदैन। वास्तविक किसान पहिचान गरेर योजना बनाउनुपर्छ। अनुदान पनि वास्तविक किसानले पाउन सकिरहेको अवस्था छैन। किसानले राज्यबाट प्रेरणाको आस गरेका हुन्छ।’
कोरोना महामारीका कारण दुई वर्ष लकडाउन हुँदा बैंकमा किस्ता तिर्न समस्या भोग्नुपरेको अनुभव श्रेष्ठले सुनाए। उनले भने, ‘कोरोनाले व्यापारमा समस्या ल्यायो। अर्कोतिर उत्पादन भएको कुखुराका अण्डाले बजार भाउ पाएन।’ श्रेष्ठले फार्म सञ्चालनका लागि एनआईसी एसिया बैंकबाट ८० लाख रुपैयाँ साढे ५ प्रतिशत ब्याजदरमा ऋण लिएको बताए। बैंकले ब्याज बढाएका कारण उनले अर्कै बैंकसँग ऋण लिएर फार्म सञ्चाचलन गरिरहेका छन्।
सरकारले सवारीसाधन र अन्य कृषि फार्मका लागि आवश्यक सामग्री खरिद गर्दा छुट दिनुपर्ने उनको माग छ। ‘सरकारले बजारको व्यवस्था गरेर कृषिउपजको मूल्य तोकिदिनुपर्छ। किसानले उत्पादन गरेका सामग्री निश्चित मूल्यमा किनेर बिक्री गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने।
केही वर्ष यूएईमा काम गरेर फर्किएका श्रेष्ठले नेपालमै केही गर्नुपर्छ भनेर कृषि पेसा रोजेका हुन्। उनले भने, ‘बजारमा अहिलेको जस्तै समस्या रहिरहे कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउनेछ।’
भिडिओ