२०८१ लाई ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्छ : केपी ओली

हिमाल प्रेस १ वैशाख २०८१ १५:१५ | Saturday, April 13, 2024
२०८१ लाई ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्छ : केपी ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गएराति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताएका हुन्।

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई आफैँले बनाउनुपर्ने बताए। ‘नेपाल अरु कसैले आएर बनाई दिँदैन, हामी नेपाली आफैँले बनाउने हो। यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ। विशेष गरी युवामा यो हुनुपर्छ’,उनले भने।

अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे। उनले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन विषयमा प्रष्ट हुन आग्रह गरे।

अध्यक्ष ओलीले भने,‘पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा,जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ,यी तीनै कुरा गलत हुन्।’ उनले अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको बताए।

नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको र अब राष्ट्रिय हित तथा विकासको गति तीव्र ढंगले अघि बढ्ने अध्यक्ष ओलीको भनाइ थियो। विगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नुपरेको भन्दै उनले देशका लागि नयाँ सत्ता समीकरण बनाउनु परेको बताए।

प्रकाशित: १ वैशाख २०८१ १५:१५ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast