स्मरणमा गोरखा भूकम्प

हिमाल प्रेस १२ वैशाख २०८१ ८:२० | Wednesday, April 24, 2024
स्मरणमा गोरखा भूकम्प भूकम्पको केन्द्र रहेको गोरखाको बारपाक।

काठमाडौँ- गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ।

विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको जनाएका हुन्। भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज बिहान ११ :४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ।

गोरखा भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित घोषणा गरेको थियो। भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो।

भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ। यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

प्रकाशित: १२ वैशाख २०८१ ८:२० | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast