 
                             
                                            संखुवासभा- संखुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन्। यसअघिका वर्षमा पाठ्यपुस्तक समयमा नपुग्ने संखुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो।
नयाँ शैक्षिक सत्र सुरु नहुँदै संखुवासभाका ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन्। संखुवासभा सदरमुकाम खाँदबारीका पुस्तक पसल व्यवसायीले सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण थालेको हो।
सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको व्यवसायी कृष्ण भण्डारीले बताए। हालसम्म ६० प्रतिशत बढी पाठ्यपुस्तक खरिद गरेर लगिसकेको व्यवसायी भण्डारीले बताए। अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका भण्डारीको भनाइ छ।
संखुवासभामा प्रतिकक्षा दुई हजार पाँच सयका दरले पुस्तक आवश्यक पर्छ। सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो।
विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ। यस वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 