 
                             
                                            काठमाडौँ- वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन्।
क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा काठमाडौँमा शनिबार आयोजित वेद र विज्ञानसम्बन्धी भेलामा स्वामी डा. केशवानन्दले वेदमा भएका विज्ञानका गहन विषयवस्तुलाई अहिलेका पुस्ताले मनन गर्नुपर्ने बताए।
डा. केशवानन्दले वेद र विज्ञानले एकले अर्कोलाई बहिष्कार नगरी आपसमा सामञ्जस्यको खोजी गर्नुपर्नेमा जोड दिए। स्वामी केशवानन्दका अनुसार नयाँ पुस्तालाई वैदिक वाङ्मयको ज्ञानको हस्तान्तरण कसरी गर्ने र वेदभित्र निहित अनन्त ज्ञानराशिलाई प्रविधिसँग कसरी जोड्ने भन्ने विषयमा उद्बोधन गरिएएको थियो।
विश्लेषक अरुण सुवेदीले उपनिषद् पढ्दा आफूलाई रसायनशास्त्र पढेजस्तो लागेको बताए। उनले आधुनिक विज्ञानका पुस्तकमा पढिएका कुरा सात हजार वर्षअगाडि हाम्रै ग्रन्थमा रहेछन् भन्ने थाहा पाउँदा गौरव लागेको बताए।

लेखक सौरभ सत्यालले समाज नै वेदको अवधारणमा सञ्चालित भएको बताउँदै यसलाई संस्थागत ज्ञान र अभिलेखमा राख्ने प्रणाली पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
पत्रकार युवराज घिमिरे आफूले भारतमा पत्रकारिता गर्दा सतीप्रथाबारे बुझ्न खोज्दा वेद र उपनिषद् पढेको र वेदमा अहिलेका विश्वविद्यालयमा पाइने ज्ञान नै भएको सुनाए।
अर्थवेदाचार्य नारायाण घिमिरेले गुरुकूल पद्धतिको संरचना भत्काएर आधुनिक विज्ञानको संरचनामा समाज गएको स्थितिमा अब आधुनिक विज्ञानका कमीकमजोरीलाई वेदका ज्ञानबाट पूर्ति गरी अघि बढ्नुपर्ने बताए।
भेलामामा नेपाल, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, जर्मनी र भारतबाट सहभागिता थियो। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 