ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सरको नि:शुल्क उपचार

हिमाल प्रेस १२ वैशाख २०८१ १३:५६ | Wednesday, April 24, 2024
ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सरको नि:शुल्क उपचार

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ। उक्त शिविरको सुरुवात वडा नं १४ स्थित तिखेदेवलबाट गरिएको हो। एक महिनाभित्र महानगरका सबै वडामा आयोजना गर्ने लक्ष्य लिइएको छ।

शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले उपचार गरिदिने भएको छ। पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपीभीडी एन ए विधिद्वारा गरिने महानगरका प्रजनन स्वास्थ्य फोकल पर्सन दाताराम अधिकारीले बताए।

शिविर शुभारम्भ कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक एवम् महानगर प्रवक्ता राजु महर्जनले महानगरले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट महिला दिदीबहिनी प्रभावित भएको तथ्यांक छ। त्यसको न्यूनीकरणका लागि हामीले महानगरका सबै वडामा यो शिविर राखेका हौँ। महानगरले गत आर्थिक वर्षमा पनि महानगरका आठवटा वडामा एचपीभीडी एन ए विधिद्वारा १ हजार ३ सय महिलामा परीक्षण गरेको थियो।’

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गरी सेवासमेत सुरु गरिसकेको छ।  महर्जनले भने, ‘यो कार्यक्रमबाट नगरवासी उत्साहित भएका छन्। ’

ललितपुर महानगर वडा नम्बर १४ का वडा अध्यक्ष अमृतजंग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्त्व दिएको बताए।

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डिइनए प्रभावकारी विधि हो।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लागेको तथ्यांक बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपीभीडीएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए।

प्रकाशित: १२ वैशाख २०८१ १३:५६ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast