राष्ट्र बैंक
                                            काठमाडौँ– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरिवेक्षण रिपोर्ट २०२२/२३’ मा गम्भीर गल्तीको आशंकामा १८ वटा वाणिज्य बैंकलाई विशेष निगरानीमा राखेको छ। राष्ट्र बैंकले सरोकारवाला पक्ष तथा ग्राहकको गुनासो तथा उजुरीको आधारमा ती बैंकहरूलाई विशेष निगरानीमा राखेको जनाएको छ।
बैंक सुपरिवेक्षण रिपोर्ट लक्ष्मी सनराइज बैंक र प्रभु बैंक ४ पटकसम्म निरीक्षणमा परेका छन्। साथै, निरीक्षणमा ग्लोबल आइएमई र कुमारी बैंक ३ पटक पर्दा राष्ट्रिय वाणिज्य, हिमालयन, एनएमबि, एनआइसी एशिया, नबिल, प्राइम, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंक २–२ पटक परेका हुन्। कृषि विकास, नेपाल एसबिआई, सानिमा, सिटिजन्स र सिद्धार्थ बैंक भने गत वर्ष राष्ट्र बैंकको विशेष निगरानीमा १÷१ पटक मात्रै परेका छन्।
गत वर्षमा नेपाल राष्ट्र बैंकले बैंकहरूमा पटकपटक गरी ३७ पटकसम्म विशेष निरीक्षण गरेको हो। राष्ट्र बैंकले सरोकारवाला पक्ष तथा ग्राहकको गुनासो तथा उजुरीको आधारमा बैंकहरूमा विशेष निरीक्षण गर्छ।
गत वर्ष कुनै बैंकलाई ४ पटकसम्म सुक्ष्म निगरानीमा राखेर विशेष निरीक्षण गर्दा स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंक भने एक पटक पनि यस्तो निगरानीमा परेका छैनन्।
निगरानीमा परेका बैंक प्रहरी, अख्तियार, सम्पत्ति शुद्धीकरणलगायत व्यक्तिगत रुपमा आएका उजुरी वा गुनासोको आधारमा बैंकहरूमा विशेष निरीक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जोखिममा आधारित निरीक्षण राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षणले नियमित गरिरहेको हुन्छ।

                                             
                                             
                                             
                                             
                                             

