राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि मंगबालर उम्मेदवारी दर्ता गराउँदै नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरे। तस्बिर : हिमाल प्रेसा
                                            काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ। एमालेका तर्फबाट विमला घिमिरे र कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेसकी पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन्। यसैगरी एमालेकी घिमिरेको समर्थनमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की आछामी छन्।
उम्मेदवारी दर्ता गराएपछि घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरेकी छन्। उनले आफू निर्वाचित भएमा राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन्। स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उनले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई धन्यवाद दिएकी छन्।
उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली छ। राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष एकै दल र एकै लिंगको हुन नपाउने व्यवस्था छ। अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल निर्वाचित भएका छन्।
दाहाल अध्यक्ष भएपछि माओवादी केन्द्रबाटै उपाध्यक्ष बनेकी अर्यालले राजीनामा दिएकी हुन्। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ।

                                             
                                             
                                             

