 
                            
                                            काठमाडौँ- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास अति सुन्दर देखिन्छ। प्रतिष्ठानको मुख्य हलको भित्तोमा झुण्ड्याइएको उक्त क्यान्भासमा पोतिएको रङ जति सुन्दर छ, त्यसले दिएको सन्देश त्यति नै मार्मिक र मर्मस्पर्शी छ। मानिसको मुटुमा सगरमाथा र पृथ्वीलाई जोडेर यी तीनको अन्योन्याश्रित सम्बन्धलाई उनका सिर्जनाले खुलस्त पारिदिएको छ।
‘जब स्वच्छ मुटुका धमनीहरूबाट स्वच्छ रगत बग्छ, तबमात्रै मानव जीवनको अस्तित्व रहन्छ। त्यही मुटु स्वच्छ बनाउन स्वच्छ प्रकृति नभई हुन्न। स्वच्छ वातावरण हुनैपर्छ। वातावरण सफा भएन भने मुटु बिग्रिँदै जान्छ र मानव जीवन समाप्त हुन्छ,’ महतोले भने। उनले त्यो मुटु जोगाउने हो भने पहिले पृथ्वीलाई हरियाली पार्नुस् भनेर कलामार्फत विश्व समुदायलाई आह्वान गरेका छन्।
‘अब पृथ्वीलाई मुटुजस्तै स्वच्छ चाहने हो भने स्वच्छ हिमाल चाहिन्छ किनकि पानीको स्रोत भनेको हिमाल नै हो। यसमा मैले देखाउन खोजेको स्वच्छ जीवन र स्वच्छ पृथ्वीका लागि हिमाल महत्त्वपूर्ण छ, तर हिमालबाट हिउँ पग्लिँदै गएकाले खतरा बढ्यो, हामी सचेत होऔँ भन्ने हो,’ उनी भन्छन्।
अर्की कलाकार सुष्मा श्रेष्ठले हिमाली क्षेत्रको रहस्य खोतलिन्। हिमाल माथि देखिन्छ तर त्यससँग नदी बगिरहेको हुन्छ। विभिन्न प्राकृतिक छटासँगै हिमाल नदी भएर बगिरहन्छ। चुचुरोबाट देखिने प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण आफैँमा रहस्यमय छ। हिमाली क्षेत्रमा पाइने गुम्बालाई समेत उतारेर उनले प्राकृतिक सुन्दरतालाई थप प्रस्ट्याएकी छन्।
हिमालको सुन्दरता हरायो अथवा हिउँ पग्लिएर गयो भने त्यसले मानव अस्तित्व नै खतरामा जाने संकेत गरेको उनी बताउँछिन्। ‘हिमाल देख्दा एउटा हिमाल मात्र हो, तर त्यहाँभित्रका रहस्यहरू अथाह छन्, त्यो सौन्दर्य, संस्कृति, रहनसहन र अमूल्य प्राकृतिक सम्पत्ति हो। यसलाई हामीले समयमा नै बचाउन सक्यौँ भने मानव अस्तित्व पनि बचाउन सकिन्छ,’ उनी भन्छिन्।
उनकी छोरी हुन् श्रेया हाडा श्रेष्ठ। हाडा हरेक कला सिर्जनामा आमासँगसँगै दौडिन्छिन्। कहिलेकाहीँ आमासँगै प्रतिस्पर्धा पनि गर्छिन्। अहिले हिमालयको रहस्यमा पनि आमाछोरीकै सिर्जना प्रदर्शनीमा छनोट भएका छन्। श्रेष्ठले दृष्टिकोण शीर्षकमा हिमालको रहस्य कोरेकी छन्।
रातो र निलो रङ दिएर उनले क्यान्भसामा हिमाली सिर्जना पस्किएकी छन। रातो रङले हिमाल आरोहणको चुनौतीलाई उतारेकी छन्। निलो रङमार्फत त्यसको सुन्दरतालाई झल्काएकी छन्।
कतिपय मानिसहरू हिमाल चढ्न आतुर हुन्छन्। जोखिम मोलेरै जान्छन् तर सक्दैनन् र आफैँलाई समाप्त पार्छन्। कतिपय मानिस त्यही जोखिम मोलेर टुप्पोमा पुगेपछि स्वर्गीय आनन्द मिलेको अनुभूति लिएर फर्कन्छन्। एकै ठाउँमा पनि यस्ता कयौँ फरक रहस्यहरू छन्, जुन हिमाली क्षेत्रमा पाइन्छ। त्यही कुरालाई विषय बनाएर उनले कला सिर्जना गरेको बताइन्।
उनीहरूसँगै ६९ जना कलाकारले हिमालका रहस्यलाई विभिन्न कोणबाट क्यान्भासमा भरेका सिर्जना अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा देखाइएको छ।
आफैँमा रोचक र सुन्दरताको खानी हिमाल र हिमाली क्षेत्रका रहनसहनलाई पनि कलाकारले सुन्दर ढंगले पस्किएका छन्। कतिपय कलाकारले विश्वमा बढ्दो जलवायु परिवर्तनको असर र त्यसले हिमालय क्षेत्रमा पारेको प्रभावलाई दुरुस्त पारेका छन्। कतिपयले हिमाली सुन्दरतालाई ‘दृश्य भाषा’मा देखाएका छन्।
यो पटकको कला प्रदर्शनीमा हिमाल जोगाउनका लागि विश्वलाई दृश्य भाषामार्फत आह्वान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए।
कलाकारले दृश्य भाषामार्फत औद्योगिक राष्ट्रहरूलाई चेतावनीसमेत दिएका छन्। हिमाल सकिए हिमाल मात्रै सकिँदैन स्वयं आफैँ पनि समाप्त हुने हो भन्दै कलाकारका सिर्जनाले आजैदेखि कार्वन उत्सर्जनका गतिविधि रोक्न अनुरोध गरिरहेको भेटिन्छ। औद्योगिक राष्ट्रका कारण विश्वको तापक्रम बढाइरहेको छ। ती राष्ट्रहरूलाई घच्घच्याउनका लागि यो प्रयास गरिएको प्रतिष्ठानको भनाइ छ।
एक सातादेखि जारी ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशवराज खनालले गरेका छन्। प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन्।
प्रतिष्ठानले केही महिनाअघि नै उक्त विषयमा कला सिर्जना गर्न सार्वजनिक आह्वान गरेको थियो। सोही आधारमा कलाकारले बनाएका सिर्जनाहरू यहाँ प्रदर्शन गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ। –नारायण ढुंगाना/रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 