बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गरिनेछ : श्रममन्त्री

हिमाल प्रेस ९ वैशाख २०८१ १८:३७ | Sunday, April 21, 2024
बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गरिनेछ : श्रममन्त्री

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न सकिने बताएका छन्।

आइतबार मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने बताएका हुन्। ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने ।

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरूबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ। सोही विषयमा सुझाव लिनका लागि मन्त्रालयले छलफल आयोजना गरेको थियो।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरी रहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए। ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपको बारेमा जानकारी पाउनेछन्,’ उनले भने, ‘साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्।’

छलफलमा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए। मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने समेत उनको भनाइ छ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारी प्रवर्द्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्न मेलाको परिकल्पना गरिएको बताए।

प्रकाशित: ९ वैशाख २०८१ १८:३७ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast