 
                             
                                            काठमाडौँ- वैशाख ६ देखि ८ गतेसम्म रामेछापमा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)मा छनोट भएका २१ फिल्मको नामावली सार्वजनिक भएको छ। महोत्सवबारे काठमाडौँमा प्रि एभेन्ट कार्यक्रम गर्दै छनोट भएका फिल्म सार्वजनिक गरिएको छ।
नेरुफमा पाँच फिचर, पाँच डकुमेन्ट्री, तीन विभिन्न भाषाभाषी र आठ ओटा छोटो फिल्म गरी २१ फिल्म प्रदर्शन गरिनेछ। रामेछाप बजारस्थित गौरीशंकर उच्च माविमा हुने महाेत्सवमा छनाेट भएका फिल्म नि:शुल्क देखाइनेछ।
महोत्सवमा कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’ को विशेष प्रदर्शन गरिने छ। महाेत्सवकाे अन्तिम दिन उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिनेछ।
यसवर्ष महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र, चलचित्र र स्थानिय सरकार विषयमा संवाद कार्यक्रम पनि हुने आयोजकले जनाएको छ। सेलिब्रेटी नेपालले आयोजना गरेको महोत्सवमा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाले सहकार्य गरेको छ।
विगत ३ वर्षदेखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा नेरुफले गाउँले परिवेशमा निर्माण गरिएका छाेटाे, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँगाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको छ।
नेपाल ग्रामीण चलचित्र महोत्सवले नेपाली गाउँले परिवेशमा अझै पनि चलचित्र बन्नु पर्छ र गाउँका दर्शक माझ चलचित्रको बजारीकरण खोज्नुपर्छ भन्ने मुख्य उदेश्यले महाेत्सव गर्दै आएकाे छ। पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा महाेत्सव सम्पन्न भएको थियो।
नेरुफमा छनोट भएका २१ फिल्म
फिचर फिल्म
नांगो गाउँ : दिपेन्द्र खनाल
दिमाग खराब : निश्चल बस्नेत
बिच्छेद : सत्यराज चौलागाईँ
डेसान : कमल इक्चै मगर
सतीदेवी : लक्ष्मण सुवेदी
छोटो फिल्म
द डार्क बेकन : पवन केसी
सिगरेट : डब्बु क्षेत्री
सिपाईको छोरा : सुरज पौडेल
द ग्रेट मुखिया : असिम पौडेल
डिस्पेयर : शिव पुरी
रित्तो गाउँ : रामजी ज्ञावाली
आमा : परिच्छेद सेन
स्यालुट : अनुपराज राई
डकुमेन्ट्री फिल्म
आग्रे : अनिल बुढा मगर
मगर चिनारी : कमल एक्चै मगर
स्नो लेपार्ड : प्रदीप पोखरेल
इट्टा भट्टा : सुरेश डी मुखिया
बनकरिया : लक्ष्मी बस्नेत
भाषिक फिल्म
लिलामे माइला : भिम लामा
माराङ : बुद्धिया एस मगर
स्वयनगु : अमृतमान महर्जन

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 