नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’

हिमाल प्रेस ३ वैशाख २०८१ १५:२० | Monday, April 15, 2024
नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुंगा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए। प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो। धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ।

समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो। यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो। नागढुंगाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ। आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो। सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ। यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ। आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ। जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो।

प्रकाशित: ३ वैशाख २०८१ १५:२० | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast