नयाँ वर्षसँगै खुल्यो माइतीघर-बानेश्वर निषेधाज्ञा

हिमाल प्रेस १ वैशाख २०८१ ६:५९ | Saturday, April 13, 2024
नयाँ वर्षसँगै खुल्यो माइतीघर-बानेश्वर निषेधाज्ञा

काठमाडौँ- काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा आज जारी सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।’

यसअघि काठमाडौँका विभिन्न स्थानमा दुई महिनासम्मका लागि भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो। यस्तै, गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ।

मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृंखल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जानकारी दिएको हो।

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ।

मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवानासहितको कारबाही हुने मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफनो कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको तथा शिघ्र कारबाहीसमेत गरिने बताए।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन। त्यसैले, आन्दोलनका क्रममा भएका वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बील पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ’, उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

प्रकाशित: १ वैशाख २०८१ ६:५९ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast