चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

हिमाल प्रेस १ वैशाख २०८१ १८:५५ | Saturday, April 13, 2024
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन फाइल तस्बिर

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० भेटी संकलन भएको छ। संकलन भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले संकलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ।

पाथीभरा (मुकुमलुङ) मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन्।

चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन्। गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ। यस्तै मंसिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन्।

प्रकाशित: १ वैशाख २०८१ १८:५५ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast