खडेरीले सुक्न थाल्यो बाली

हिमाल प्रेस १० वैशाख २०८१ १६:५७ | Monday, April 22, 2024
खडेरीले सुक्न थाल्यो बाली

म्याग्दी- बैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित् छन्। लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र मकै सुक्न थालेको छ भने जंगलमा लागेको डढेलोले वन जंगल उजाडिएको छ। पानीका मुहान सुकेका छन्। गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन्।

हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए। ‘हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ,’ विकले भने।

‘वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदेबाली पनि राम्रोसँग उत्पादन भएन। अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ। यस्तै भयो भने त भोकमरीले मरिने भयो,’ मंगला गाउँपालिका– ५ का किसान टीका पौडेलले गुनासो गरे।

लामो समयदेखि पानी परेको छैन। मौसम तातिरहेको र गर्मीले आलसतालस बनाइरहेको छ। किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्वअध्यक्ष समेत रहेका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताए।

‘विपत्ति सुरू भएको छ। पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन। खेतमा छरेका मकै खेतमा नै सुकेको छ। बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन्। तरकारी र फलफूलका बिरुवा मर्न थाले। वनजंगल डढेलोले ध्वस्त भएका छन्। खानेपानीका मुहान सुकिराखेका छन्। स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ,’ उनले भने।

हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नांगिन थालेका छन्। यस वर्ष कम हिमपात हुँदा हिमालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा परेको स्थानीयवासीको भनाइ छ।

पर्याप्तमात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रंग उडेझैँ फिक्का देखिन थालेका छन्। हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै गएर हिमाल काला पहाडजस्ता देखिन थालेको र जंगली फूलमा समेत त्यसको प्रभाव देखिएको किसानले बताएका छन्। आकाश खुल्न सकेको छैन। जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विषाक्त बनेको छ। घाम नलागे पनि गर्मी बढेको छ।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जंगली फूलमा पनि देखिन थालेको छ। चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ। ‘मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्,’ स्थानीय जनप्रतिनिधिको भनाइ छ।

मकैबाली लगाउने याम घर्किसकेको छ। वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन्। व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन्। लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए। उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताए।

म्याग्दीमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ। तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन्। त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन्।

बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्न समेत नपाएको किसानले गुनासो गरेका छन्। रासस

प्रकाशित: १० वैशाख २०८१ १६:५७ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast