एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात

हिमाल प्रेस ३० चैत २०८० २०:४० | Friday, April 12, 2024
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात फाइल तस्बिर

काठमाडौँ- एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियामाथि पाँच विकेटको जित निकालेको हो।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले बल चार बाँकी छँदै पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २०, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाए।

पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। मलेसियाका लागि कप्तान वीरनदिप सिंहले तीन तथा मोहम्मद वाफिक र पवनदीप सिंहले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो।

मलेसियाका लागि वीरनदिप सिंहले ५७ बलमा समान चार छक्का र चौकाको मद्दतले अविजित ६८ रनको योगदान गरे। यसैगरी सार्विन मुनिएन्डी ४१ र महोम्मद आमिरले १६ रन बनाए।

दोस्रो विकेटका लागि सिंह र मुनिएन्डीले ८२ रनको साझेदारी गरे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अविनाश बोहराले एक विकेट लिए। अब नेपालले शनिबार कतारको समान गर्नेछ।

प्रकाशित: ३० चैत २०८० २०:४० | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast