एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक : समूहगत छलफल गरेर सकिने

हिमाल प्रेस ९ वैशाख २०८१ ७:०८ | Sunday, April 21, 2024
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक : समूहगत छलफल गरेर सकिने

काठमाडौँ- नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ।

शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ।

पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अंगीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, संघीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ।

यस्तै प्राविधिक शिक्षाको विस्तार र लैंगिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधीनताका आधारमा सुदृढ बनाउन एमालेको जोड रहेको छ।

ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । आज समूहगत छलफल र पारित हुनेछ।

परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन्। पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ।

बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ७:०८ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast