इरानले हमला गरे जबाफी आक्रमण गर्ने इजरायलको धम्की

हिमाल प्रेस २८ चैत २०८० २१:२५ | Wednesday, April 10, 2024
इरानले हमला गरे जबाफी आक्रमण गर्ने इजरायलको धम्की तस्बिर : एपी।

जेरुसेलम (रासस/एपी)- इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सीधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन्।

सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ।

विदेशमन्त्री इजरायल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्‍यो भने इजरायलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ।’

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजरायलविरुद्ध जवाफी कारबाही गर्ने दोहोर्‍याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो।

इरानले १२ जनाको मृत्यु हुने गरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजरायललाई दोष दिएको छ। इजरायलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ। यद्यपि इजरायलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ। यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो।

खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए। इरानी राज्य टीभीमा प्रसारित टिप्पणीमा उनले भने, ‘उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ।’

काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारबाही गर्ने भन्नेबारे विस्तारमा बताएका छैनन्। अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए।

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजरायलको समर्थन गरेकामा पश्चिम विशेष गरी अमेरिका र बेलायतको पनि आलोचना गरे।

इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजरायलविरोधी समूहहरूलाई समर्थन गर्छ। इरानले इजरायललाई मान्यता दिएको छैन।

प्रकाशित: २८ चैत २०८० २१:२५ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast