 
                             
                                            काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो।
दुवै ओपनरलाई तेस्रो ओभरभित्र गुमाएको चेन्नई त्यसपछि खेलमा फर्कन सकेन। कप्तान ऋतुराज गैक्वाड र रचिन रविन्द्र दुवै खलिल अहमदको बलमा क्याच आउट हुँदा चेन्नईले ७ रन बनाउँदा २ विकेट गुमायो।
तेस्रो विकेटका लागि अजिंक्य रहाणे र डेरील मिचेलले ६८ रनको साझेदारी गरे। मिचेल ३४ रन जोड्दै आउट भए। रहाणे ४५ रन जोडेर पेभेलियन फर्किए। शिवम दुवेले १७ बलमा १८ रन जोड्दा युवा ब्याटर समिर रिज्भी पहिलो बलमै आउट भए। तीनै विकेट मुकेश कुमारको नाममा रह्यो।
महेन्द्रसिंह धोनी ३७ रन जोड्दै क्रिजमा रहे भने रविन्द्र जडेजा २१ रन जोड्दै नटआउट रहे।
त्यसअघि कप्तान ऋषभ पन्त र ओपनर डेविड वार्नरको अर्धशतकमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। वार्नर र पृथ्वी शाले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए।
शाले ४३ रन बनाए भने वार्नर ५२ रन बनाउँदै आउट भए। ऋषभले ५१ रनको योगदान गरे। मिचेल मार्श १८, अक्षर पटेल ७ र अभिषेक पोरेलले ९ रन जोडे। चेन्नईका मथिसा पथिरानाले ३ तथा रविन्द्र जडेजा र रहमानले १-१ विकेट लिए।
यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ।
आइतबार नै भएको खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो।
प्रतियोगिता अन्तर्गत आज मुम्बई र राजस्थान खेल्नेछन्। दुई खेल जितेको राजस्थानको चार अंक छ भने दुवै खेल हारेको मुम्बई तालिकाको पुछारमा छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 